खेल

मिस्टर कञ्चनजंघाको विजेतालाई थाइल्यान्डमा हुने एसियन च्याम्पियनसिपको खर्च आयोजकले व्यहोर्ने

मिस्टर कञ्चनजंघाको विजेतालाई थाइल्यान्डमा हुने एसियन च्याम्पियनसिपको खर्च आयोजकले व्यहोर्ने


बिर्तामोड, असोज १८ । कोशी प्रदेशमा पहिलोपटक झापामा हुन लागेको राष्ट्रियस्तरको मिस्टर कञ्चनजंघा खुला शरीरिक सुगठन प्रतियोगिताको विजेतालाई थाइल्यान्डमा हुने एसियन च्याम्पियनसिपमा सहभागीबापतको खर्च आयोजकले व्यहोर्ने भएको छ ।

आयोजक बडी ग्यारेज शारीरिक सुगठन क्लबको आज बसेको बैठकले मिस्टर कञ्चनजंघाको ओभरअल च्याम्पियनलाई सहभागिता, आउजाउ र त्यहाँको बसोबासको सम्पूर्ण खर्च व्यहोर्ने नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ कोशी प्रदेशका अध्यक्ष आदित्य पराजुलीले बताए ।

आइएफबिबी एसियन च्याम्पियनसिप यही नोभेम्बर १३ देखि १६ तारिखसम्म ब्राइटन ग्रान्ड होटल एन्ड कन्भेन्सन पटाया, थाइल्यान्डमा हुँदैछ ।

यही असोज २० र २१ गते झापाको बिर्तामोडमा राष्ट्रियस्तरको तेस्रो संस्करणको मिस्टर कञ्चनजंघा शारीरिक सुगठन च्याम्पियन हुँदैछ । आयोजक बडी ग्यारेज शारीरिक सुगठन क्लबले प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ ।
आयोजक बडी ग्यारेजका सञ्चालक तथा कार्यक्रम संयोजक राम दाहालका अनुसार प्रतियोगिताअन्तर्गत पहिलो दिन प्रिजजिङ र दोस्रो दिन फाइनल प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीभन्दा माथिका तौल समूहका खेलाडीहरू सहभागी हुनेछन् । महिलातर्फ भने खुला प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष पदम श्रेष्ठले जानकारी दिए । यसअघि अघिल्लो संस्करणमा विजेताको पुरस्कार नगद ३ लाख ११ हजार १११ रुपैयाँ थियो ।
त्यस्तै, तेस्रो संस्करणमा दोस्रो हुनेले नगद तीन लाख रुपैयाँ, तेस्रो हुनेले दुई लाख रुपैयाँ, चौथो हुनेले एक लाख रुपैयाँ पाउनेछ । पाँचौँ हुनेले नगद ७५ हजार रुपैयाँ र छैटौँ हुनेले नगद ५० हजार रुपैयाँ पाउनेछन् ।

कोशी प्रदेशमा पहिलोपटक हुन लागेको महिला प्रतिस्पर्धाका प्रथम हुने खेलाडीलाई नगद एक लाख रुपैयाँ, दोस्रो हुनेलाई ५० हजार रुपैयाँ, तेस्रो हुनेलाई २५ हजार रुपैयाँ प्रदान गरिने कोषाध्यक्ष शारदा दाहालले जानकारी दिइन् ।

त्यस्तै, हरेक तौल समूहका दोस्रो हुने खेलाडीले नगद सात हजार र तेस्रो हुने खेलाडीले नगद पाँच हजार रुपैयाँ पाउनेछन् । बाँकी तीनजनालाई ट्रफी र मेडल प्रदान गरिनेछ । यसैबीच, एक कार्यक्रमका बीच विजेताले प्राप्त गर्ने ट्रफी र मेडलको अनावरण समेत गरिएको छ ।

प्रतियोगितामा देशभरबाट दुई सयजना खेलाडीहरूले सहभागिता जनाउने अपेक्षा गरिएको प्रतियोगिताका सचिव हिमाल खरेलले बताए । प्रतियोगिताको सम्पन्न गर्न ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

शेयर गर्नुहोस :

0
Shares