मुख्य समाचार

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने जीवन परियारको घोषणा

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने जीवन परियारको घोषणा


काठमाडौँ। कांग्रेस नेता जीवन परियारले पार्टीको उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

यसअघि पार्टीको सहमहामन्त्री भइसकेका नेता परियारले १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने भएका हुन्। परियारले आइतबार सामाजिक सञ्जालमार्फत् आफू उपसभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन्।

कांग्रेसले विधानमा संशोधन गर्दै वरिष्ठ उपभापतिसहित चार जना उपसभापतिको व्यवस्था गरेको छ। जसमध्ये एक जना महिला उपसभापति हुनेछिन्। कास्की-१ बाट सर्वाधिक मत ल्याएर महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आएका परियारले खुलातर्फ उपसभापतिमा उम्मेदवारी दिन लागेका हुन्। उनी यसअघि १४औँ महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित भएका थिए।

परियार कांग्रेसको ८ दशक लामो इतिहासमा दलित समुदायबाट पहिलो पटक पदाधिकारी निर्वाचित भएका नेता हुन्। त्यसो त, कांग्रेसको संगठन विस्तारमा स्थापनादेखि नै दलित समुदायका नेताहरूको भूमिका थियो, बीपी कोइराला नेतृत्वमा २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना हुँदा १० सदस्यमध्ये देवब्रत परियार एक थिए । २००५ सालमा सुवर्णशमशेर नेतृत्वको नेपाली प्रजातान्त्रिक कांग्रेसका १२ संस्थापकमध्ये आरबी गहतराज पनि थिए ।

पाँचौँ महाधिवेशनबाट कांग्रेसको पदाधिकारी बन्ने दलित समुदायका पहिलो नेता थिए, धनमानसिंह परियार । त्यसबेला उनले मनोनीत महामन्त्री बनेर करिब ५ वर्ष काम गरे । तर, त्यसपछि भने कांग्रेसको ‘टाउको’मा दलित अनुहार कहिल्यै देखिएन । क्षमता भए पनि पार्टीको नेतृत्व पंक्तिले दलित समुदायको प्रतिनिधित्व गराउन नचाहेको नेताहरूको गुनासो थियो।
सहमहामन्त्री भएपछि परियार ०७९ को निर्वाचनमा समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य समेत निर्वाचित भए। उनी त्यसअघि संविधान सभा सदस्य समेत भइसकेका हुन्।

दलित समुदायको हक र अधिकारका लागि लामो समयदेखि सक्रिय अधिवक्तासमेत रहेका नेता परियारले कांग्रेसको भ्रातृसंस्था नेपाल दलित संघमा मात्रै २५ वर्ष काम गरिसकेका छन् । उनको पारिवारिक पृष्ठभूमि नै राजनीतिक हो, बहुदल स्थापनापछि भएको पहिलो स्थानीय निर्वाचनमा परियारका पिता वडाध्यक्ष थिए । बाबुको राजनीतिक चेतका कारण दलित समुदायको भए पनि परियारलाई सानैदेखि राजनीतिमा लाग्ने प्रेरणा र हौसला बाबुबाटै मिल्यो ।

०५५ सालमा नेपाल दलित संघ कास्कीको संस्थापक सचिव भएर संगठन विस्तारमा खटेका परियार त्यसपछि संघकै केन्द्रीय प्रचारप्रसार सचिव, केन्द्रीय कार्यसमितिको सचिव र दुई कार्यकाल महामन्त्री भएर काम गरे । ‘मैले सबैभन्दा धेरै समय, मेरो उर्वर समय दलित समुदायकै अधिकारकालागि लड्नमा बिताएको छु, अझै संघर्ष गर्नैपर्ने छ, दलित संघमा मात्रै मैले २५ वर्ष काम गरेँ,’ परियार भन्छन्, ‘हामी पार्टीमा दोहोरो भूमिकामा हुन्छौँ, पार्टीमा पनि हाम्रो सक्रियता कम छैन । अनि आफ्नो समुदायको अधिकारका लागि पनि लड्नैपर्ने अवस्था छ, लडिरहेकै छौँ ।’

उनी ०६६ सालमा राष्ट्रिय दलित आयोगको सदस्य सचिव भए । ०७० को संविधानसभामा सदस्य भएर संविधान मस्यौदाको काम गरे । ०७४ को आमनिर्वाचनमा उनी कास्की क्षेत्र नं. १ (क) बाट प्रदेशसभा सदस्यका प्रत्यक्षतर्फ उम्मेदवार थिए। कांग्रेसले प्रदेशसभाका ३३० र प्रतिनिधिसभाका १६५ गरी ४९५ निर्वाचन क्षेत्रमध्ये परियारलाई मात्रै प्रत्यक्षतर्फको टिकट दिएको थियो ।

‘मैले संविधानसभामा समानुपातिकको सीट उपयोग गरेँ, अब म प्रत्यक्षतर्फ नै लड्छु भन्दा पार्टीले प्रदेशसभामा टिकट दियो, मैले पार्टीले दिएको मौकाको उपयोग गरेँ,’ उनी भन्छन्, ‘वाम गठबन्धन भएपछि हामीले देशभरि हार्‍यौँ, मैले पनि हारेँ ।’

उनी पार्टीको ११ औँ महाधिवेशनदेखि कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुन् । दलित संघको महासचिव रहँदारहँदै ०६७ सालमा भएको १२ औँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए । त्यसपछि संघको महासचिवबाट राजनीमा दिएर पार्टीमै सक्रिय भए ।

१३ औँ महाधिवेशनबाट पनि परियार दलित खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएका थिए । समाजशास्त्र र राजनीतिशास्त्रमा स्नात्तकोत्तर गरेका परियार कांग्रेसमा दोस्रो पुस्ताका बौद्धिक नेतामध्ये पर्छन् । उनलाई राष्ट्रिय अन्तर्राष्ट्रिय कानुन र संविधानको पनि राम्रो ज्ञान छ।

नयाँ राजनीतिक परिस्थितिमा पार्टीलाई अघि बढाउन आफूले पार्टीको उपसभापतिमा उम्मेदवारी दिने निर्णय गरेको उनले बताए।

‘सहमहामन्त्री भएर काम गरिसकेँ। पार्टीमा धेरै युवा साथीहरू आउनुभएको छ, अब युवाकै पालो हो, म नयाँ पुस्ताको भावनालाई लिएर पार्टीमा काम गर्न सक्छु, मुलुकको लागि योगदान गर्न सक्छु भन्ने ठानेर उपसभापतिको उम्मेदवार बन्दैछु,’ उनले भने।

शेयर गर्नुहोस :

54
Shares