Banner news

झापामा ३ लाख ५४ हजार ८०४ जनाले लगाए जेईविरुद्धको खोप

झापामा ३ लाख ५४ हजार ८०४ जनाले लगाए जेईविरुद्धको खोप


बिर्तामोड । झापा जिल्लामा कुल ३ लाख ५४ हजार ८०४ जनाले जापानीज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप लगाएका छन् । कुल लक्ष्यको ७१.९० प्रतिशतले खोप लगाएको स्वास्थ्य कार्यालय झापाका प्रमुख बृजकुमार दासले जानकारी दिए ।

१४ दिनसम्म सञ्चालन भएको यस खोप अभियानमा महिलाहरूको सहभागिता पुरुषभन्दा बढी देखिएको छ । तथ्याङ्क अनुसार यस अवधिमा २ लाख ७ सय ५ जना महिला र १ लाख ५४ हजार ९९ जना पुरुषले खोप लगाएका छन् ।

जिल्लाका १५ वटा स्थानीय तहहरूमध्ये सबैभन्दा धेरै कभरेज हासिल गर्नेमा हल्दिबारी गाउँपालिका पहिलो स्थानमा रहेको छ, जहाँ ८७.० प्रतिशत प्रगति भएको छ ।

यसैगरी कचनकवल गाउँपालिकामा ८०.७ प्रतिशत, बाह्रदशी गाउँपालिकामा ७८.४ प्रतिशत र विर्तामोड नगरपालिकामा ७७.० प्रतिशत लक्ष्य हासिल भएको छ । झापाका विभिन्न स्थानीय तहहरूमा स्वास्थ्यकर्मी र स्वयम्सेवकहरूको सक्रिय सहभागितामा यो अभियान सञ्चालन गरिएको थियो । झापामा ४ लाख ४३ हजार हजार ३१९ जनालाई खोप लगाउने लक्ष्य राखिएको थियो ।

स्वास्थ्य कार्यालय झापाका प्रमुख दासका अनुसार कोही खोप लगाउन बाँकी रहेको खण्डमा आगामी शुक्रवारसम्म नजिककैको स्वास्थ्य संस्थामा गएर सेवा लिन सकिने छ ।

शेयर गर्नुहोस :

0
Shares