काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका लागि भोलि (असोज २०) बिहान १० बजेदेखि उमेदवारी दर्ता हुने भएको छ ।
आइतबार उद्घाटन सत्र सम्पन्न भएको कांग्रेस महाधिवेशनको बन्दसत्र सोमबार जारी छ । केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालका अनुसार, भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारी दर्ताको समय तोकिएको छ । “अहिलेसम्मको अवस्था हेर्दा भोलि बिहान १० बजेदेखि मनोनयन दर्ता गर्ने तयारी छ,” कटुवालले भने ।

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार सोमबार बेलुका ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ । त्यसपछि साढे ६ बजेसम्म मतदाता नामावलीमाथि दाबी–विरोध गर्न सकिनेछ भने बेलुका साढे ८ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।
असोज २० गते अपराह्न साढे ४ बजे उमेदवारको नामावली प्रकाशन गरिनेछ । त्यसपछि साढे ४ देखि साढे ५ बजेसम्म उमेदवारको नामावलीमाथि दाबी–विरोध गर्न सकिनेछ । सोही दिन बेलुका ७ बजे उमेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ ।
असोज २१ गते बिहान ९ बजेसम्म उमेदवारी फिर्ता लिन सकिनेछ । बिहान १० बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसपछि दिनभर उमेदवारले प्रचारप्रसार गर्न पाउनेछन् ।
असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । मतदानका लागि राष्ट्रियसभा गृह, खुलामञ्च र प्रज्ञा भवन तोकिएको छ । मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।








प्रतिक्रिया