काठमाडौं, १९ असाेज । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी परित्याग गरेका छन्।
नेकपाको वर्तमान नेतृत्व र कार्यदिशाप्रति तीव्र असन्तुष्टि जनाउँदै खनालले आफ्नै अगुवाइमा छुट्टै राजनीतिक यात्राका रूपमा ‘समाजवादी जागरण अभियान’ को घोषणा गरेका छन्।

पार्टी नेतृत्वले क्रान्तिकारी वैचारिक–राजनीतिक कार्यदिशा छाडेको र कार्यकर्ता तहमा निराशा तथा असन्तुष्टि चुलिएको भन्दै उनले सोमबार काठमाडौंमा आयोजित एक विशेष भेलामार्फत उक्त अभियानको औपचारिक सुरुवात गरेका हुन्।
काठमाडौंमा सम्पन्न भेलाले नेपालको कम्युनिस्ट आन्दोलनको गम्भीर समीक्षा गर्दै १५ बुँदे प्रस्तावसमेत पारित गरेको छ। भेलाले विभाजित अवस्थामा रहेका विभिन्न वामपन्थी शक्तिहरूलाई एकताबद्ध गर्दै क्रान्तिकारी विचारका आधारमा एकीकृत र सशक्त कम्युनिस्ट पार्टी निर्माण गर्ने निर्णय गरेको छ।
त्यसैगरी, नेपाली वस्तुगत अवस्थाअनुकूल समाजवादका विषयमा खुला एवम् नीतिनिष्ठ वैचारिक बहस सञ्चालन गर्ने र नागरिकका आधारभूत अधिकार—गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको पूर्ण ग्यारेन्टीका लागि चौतर्फी दबाब दिने निर्णयसमेत भेलाले गरेको छ।
भेलाले राष्ट्रिय सार्वभौमिकता र स्वाधीनताको रक्षाका लागि निरन्तर आवाज उठाउने, भोटेकोशी तथा त्रिशूली बाढीबाट प्रभावित भएका नागरिकको दिगो पुनःस्थापनाका लागि पहल गर्ने र युवा तथा विद्यार्थीका जायज मागहरू अविलम्ब सम्बोधन गर्न सरकारसँग माग गरेको छ।
कार्यक्रममा बोल्दै नेता खनालले यो अभियान तत्कालका लागि कुनै नयाँ पार्टी गठन गर्ने वा पार्टी फुटाउने उद्देश्यले नल्याइएको स्पष्ट पारे। “यो अभियान देशका सम्पूर्ण इमानदार, देशभक्त वामपन्थी तथा क्रान्तिकारी शक्तिहरूलाई एउटै मञ्चमा जोड्ने र नेपालको कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्ने ऐतिहासिक प्रस्थानबिन्दु हो,” खनालले भने।








प्रतिक्रिया