झापा । चाडपर्वलाई सुरक्षित, सभ्य र मर्यादित रूपमा मनाउन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय झापाले नागरिकहरूलाई मादक पदार्थ सेवन तथा लागूऔषधको दुव्र्यसनबाट टाढै रहन विशेष अनुरोध गरेको छ ।
बडादसैँ, शुभ–दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना दिदैं झापा प्रहरीले ‘लागू औषध मुक्त चाडपर्व, सुरक्षित परिवार र समृद्ध समाजको आधार’ भन्ने मूल नारालाई आत्मसात् गर्दै प्रहरीले चाडपर्वका बेला अपनाउनुपर्ने विभिन्न सुरक्षा सतर्कताबारे जानकारी गराएको छ । चाडपर्वको समयमा अत्यधिक मदिरा सेवन गरी स्वास्थ्य बिगार्ने, पारिवारिक कलह तथा झगडा निम्त्याउने गतिविधि नगर्न सचेत गराइएको छ । साथै, लागूऔषधको सेवन, ओसारपसार, खरिद–विक्री वा वितरण कानुनी रूपमा दण्डनीय अपराध भएकाले यस्ता गतिविधिबाट टाढा रहन जोड दिइएको छ ।
यातायात व्यवस्थालाई सुरक्षित बनाउन ट्राफिक नियमको पालना गर्न र ट्राफिक प्रहरीद्वारा सञ्चालन गरिने मापसे तथा सुरक्षा चेकिङमा पूर्ण सहयोग गर्न अनुरोध गरिएको छ । कानुन उल्लंघन गर्नेलाई जरिवाना, सवारी नियन्त्रण तथा अन्य कडा कानुनी कारबाही हुनसक्ने चेतावनी पनि दिइएको छ । साथीभाइको दबाब, मनोरञ्जन वा कुनै पनि बहानामा लागूऔषध सेवन नगर्न तथा अरूलाई पनि बचाउन सचेत बनाइएको छ ।
अपरिचित व्यक्तिबाट प्राप्त हुने खाद्यान्न वा पेय पदार्थ सेवन गर्दा विशेष सावधानी अपनाउन र नशालु पदार्थ मिसाइ हुन सक्ने लुटपाट, ठगी वा अन्य आपराधिक घटनाबाट बच्न सतर्क रहन भनिएको छ । परिवार, विद्यालय, समुदाय तथा युवापुस्तालाई लागूऔषध दुव्र्यसनका दुष्परिणामबारे सचेत गराउँदै स्वस्थ जीवनशैलीको प्रवद्र्धन गर्न सबैमा आह्वान गरिएको छ ।
चाडपर्वको वास्तविक खुसीलाई कुलत, दुव्र्यसन, दुर्घटना र अपराधमुक्त राख्दै सुरक्षित, अनुशासनयुक्त र सभ्य समाज निर्माणमा सबैको सहकार्य आवश्यक रहेको प्रहरीले जनाएको छ । यदि कुनै शंकास्पद लागूऔषध कारोबार, सेवन, ओसारपसार वा अन्य आपराधिक गतिविधिको बारेमा जानकारी प्राप्त भएमा तत्काल नजिकैको प्रहरी कार्यालयमा वा आपतकालीन नम्बर १०० मा सूचना दिन आग्रह गरिएको छ ।








प्रतिक्रिया