Banner news

एनके प्यूरिफायरविरुद्ध प्रहरीले ठगी मुद्धाअघि बढाएपछि ग्राहक अन्यौलमा

एनके प्यूरिफायरविरुद्ध प्रहरीले ठगी मुद्धाअघि बढाएपछि ग्राहक अन्यौलमा


बिर्तामोड । बिर्तामोडको एनके प्यूरिफायरविरुद्ध प्रहरीले ठगी मुद्धामा अनुसन्धानअघि बढाएपछि ग्राहकहरु थप अन्यौलमा परेका छन् । सोचेजस्तो तत्कालै छिनोफानो नभएपछि ग्राहकहरु लगानी डुब्ने चिन्तामा परेका हुन् ।

गत असोज ७ गते बिर्तामोडमा भएको लक्की ड्रमा धाँदलीको आरोप लागेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धान लम्बिदै गएपछि किस्तावन्दीमा लगानी गर्ने ग्राहकहरु पैसा फिर्ता पाइएला वा नपाइएला भन्ने अन्योलमा छन् । मुद्धाबाट प्रक्रिया अघि बढेपछि ग्राहकहरु चिन्तित बनेका हुन् ।

बिर्तामोडको सिटी सेन्टरमा लक्की ड्र गरेर उपहार वितरण गर्ने कार्यक्रममा विधि मिचेको आरोप लगाउँदै ग्राहकहरुले हंगामा गरेका थिए । उनीहरुले तत्कालै इलाका प्रहरी कार्यालयमा निवेदन दिएर कारबाही अघि बढाउन आग्रह गरेका थिए । प्रहरीले सञ्चालकहरुमध्ये दुई जनालाई नियन्त्रणमा लिएर सो कम्पनीविरुद्ध ठगी मुद्धा चलाएको हो ।

पक्राउ परेका दुई जनाविरुद्ध दुई पटक म्याद थप भइसकेको छ भने फेरि म्याद थप गर्ने तयारी रहेको बुझिएको छ । ग्राहकहरुले इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । निवेदन उपर प्रशासन कार्यालयले प्रहरीलाई आवश्यक अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

प्रहरीले एनके प्यूरिफायरका सन्दर्भमा अनुसन्धान भइरहेको जनाएको छ । ग्राहकहरुले निवेदन दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो । प्रहरीले लक्की ड्र गरेर उपहार वितरण गर्न इजाजत पाए, नपाएको ? कम्पनीले वितरण गर्ने फिल्टरको बजार मूल्य, उपहार वितरणको खर्च, मुनाफा र लक्की ड्र मार्फत उपहार वितरण गर्न पाउने नपाउने भन्ने बारे कानुनी प्रक्रियाको अनुसन्धान गरिरहेको छ ।

प्यूरिफायर विक्री गर्दा सिधैं उपहार दिइएको हो ? वा लक्की ड्र मार्फत चिठ्ठा प्रकृतिमा उपहार वितरण गरेको हो, एक प्रहरी अधिकृत भन्छन् – यो घटना सम्बन्धमा सुक्ष्म ढंगबाट अनुसन्धान भइरहेको छ ।

घटना भएको दुई साता वितिसक्दा समेत ग्राहकहरुले पैसा फिर्ताको कुनै संकेत पाउन सकेका छैनन् । उनीहरुले विधिसम्मत लक्की ड्र सञ्चालन गर्नुपर्ने वा लगानी भएको ३७ हजार ९ सय ४० रुपैयाँ फिर्ता पाउनुपर्ने माग गर्दै आएका छन् । ९ हजार ९ सय ९९ जनाको जम्मा लगानी ३७ करोड ९३ लाख ६२ हजार ६० रुपैयाँ हुने ग्राहकका प्रतिनिधिहरु बताउँछन् । फाइनल चरण अर्थात चौविसौं स्किमअघि लक्की ड्र मार्फत उपहार वितरण गरिएको जनाइएको छ ।

प्यूरिफायरको खरिदमा कारको सपना देखेका हजारौं ग्राहकहरु मुद्धा लम्बिदै गएपछि लगानी संकटमा परेको बताइरहेका छन् । यता, ग्राहकका प्रतिनिधि कुमार रसाईलीले कानुनी प्रक्रिया मार्फत आउने नतिजा पर्खिनुको विकल्प नरहेको बताएका छन् । उनले ग्राहकहरुको लगानी सुरक्षित हुनुपर्ने अडान राख्दै आएको बताए ।

२४ औं स्किमको सेकेण्ड स्टेजमा प्यूरिफायर वितरण नगरी अघि बढेपछि ग्राहकहरुले धाँदलीको आरोप लगाएका थिए । प्यूरिफायर वितरण नगरी कम्पनी अघि बढेपछि ग्राहकहरुले धाँदलीको आरोपमा प्रशासन गुहारेका हुन् । उनीहरुले नियम तथा शर्त नं. ५ उल्लंघन गरेको आरोपमा प्रशासनमा कारबाहीका लागि निवेदन दिएका हुन् ।

‘दोस्रो चरणमा कुनै पनि सामग्री नपरी खाली हात भई आएका ११ जना ग्राहकहरुमध्ये १० जनालाई पुस्तिका तालिकामा उल्लेख भएको मोटरसाईकल तथा स्कुटरहरु गोलाप्रथाद्वारा प्रदान गरिनेछ । साथै अन्तिममा बचेको केही नपर्ने १ जना सबैभन्दा भाग्यमानी ग्राहकले स्तवः कार प्राप्त गर्नुहुनेछ ’ भन्ने शर्त उल्लंघन गरेर अर्को चरणमा प्रवेश गरेपछि ग्राहकहरुले आपत्ति जनाएका थिए ।

शेयर गर्नुहोस :

0
Shares