Banner news

शिवसताक्षीमा बजार अनुगमन तीब्र, स्वास्थ्यमा खेलवाड नगर्न व्यवसायीलाई आग्रह

शिवसताक्षीमा बजार अनुगमन तीब्र, स्वास्थ्यमा खेलवाड नगर्न व्यवसायीलाई आग्रह


झापा । शिवसताक्षी नगरपालिकाले बजारमा बिक्री भइरहेका खाद्य तथा उपभोग्य वस्तुको गुणस्तर र म्यादको अवस्थाबारे अनुगमनलाई तीव्रता दिएको छ। नगरपालिकाले मंगलबार शिवसताक्षी नगरपालिका–१ स्थित धरमपुर बजारमा बजार अनुगमन गरेको हो।

अनुगमनका क्रममा विभिन्न पसलबाट म्याद गुज्रिएका, लेबल नभएका तथा गुणस्तरमा समस्या देखिएका खाद्यवस्तु फेला परेको नगरपालिकाले जनाएको छ। विशेषगरी धरमपुरस्थित कृष्ण किराना एण्ड फेन्सी पसलबाट ठूलो परिमाणमा म्याद गुज्रिएको कुरमुरे फेला परेको थियो। त्यस्तै फेन्टा, ढुसी लागेको चना, पान मसला, लेबल नभएको पापडलगायतका खाद्य सामग्रीसमेत भेटिएका थिए।

अनुगमनका क्रममा कुलुङ होटल, अनिस किराना पसल तथा साया किराना तथा फलफूल पसलबाट समेत म्याद गुज्रिएका खाद्य सामग्री फेला परेको अनुगमन समितिकी संयोजक तथा नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले जानकारी दिनुभयो।

उपप्रमुख कार्कीले नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य सामग्रीको गुणस्तरमा कुनै पनि किसिमको सम्झौता गर्न नसकिने बताउनुभयो। उहाँका अनुसार नगरपालिकाले बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाउँदै लैजानेछ।

उहाँले भन्नुभयो, “हामी निरन्तर बजार अनुगमन गरिरहेका छौँ। तर केही पसलमा पटक–पटक म्याद गुज्रिएका सामग्री फेला परिरहेकाले व्यवसायीले यस विषयमा हेलचेक्र्याइँ गरिरहेको हो कि भन्ने भान हुन थालेको छ। नागरिकको स्वास्थ्यमा खेलवाड नगर्न हामी सबै व्यवसायीलाई आग्रह गर्दछौँ।”

नगरपालिकाले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै म्याद गुज्रिएका तथा बिक्रीका लागि अनुपयुक्त सामग्री बिक्री वितरण नगर्न व्यवसायीलाई सचेत गराएको छ। साथै, अनुगमनका क्रममा फेला परेका अखाद्य तथा म्याद गुज्रिएका सामग्री नगरपालिकाले नियमानुसार डिस्पोज गर्ने जनाएको छ।

धरमपुर बजारसँगै अनुगमन टोलीले मंगलबारे बजारका केही पसलमा समेत अनुगमन गरेको थियो। अनुगमनका क्रममा व्यवसायीलाई खाद्य सामग्रीको म्याद, लेबल, उत्पादन तथा उपभोग्य मिति, मूल्यसूची र भण्डारणको अवस्थालगायतका विषयमा आवश्यक जानकारी तथा निर्देशन दिइएको बताइएको छ।

नगरपालिकाले बजारमा नियमित अनुगमनमार्फत उपभोक्ताको अधिकार संरक्षणसँगै व्यवसायीलाई जिम्मेवार बनाउन खोजिएको जनाएको छ। म्याद गुज्रिएका वा गुणस्तरहीन सामग्री बिक्री गर्ने कार्यलाई निरुत्साहित गर्दै आगामी दिनमा समेत अनुगमनलाई निरन्तरता दिने नगरपालिकाको भनाइ छ।

अनुगमन टोलीमा नगरपालिकाको राजस्व शाखाका कर्मचारी, नेपाल प्रहरी, नगर प्रहरी, शिवसताक्षी उद्योग वाणिज्य संघका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो।

शेयर गर्नुहोस :

0
Shares