Banner news

एनकेका ग्राहक भन्छन् – ‘मुद्धा चल्दै गर्छ, हामीलाई प्यूरिफायर दिइयोस्’

एनकेका ग्राहक भन्छन् – ‘मुद्धा चल्दै गर्छ, हामीलाई प्यूरिफायर दिइयोस्’


बिर्तामोड । एनके प्यूरिफायरका ग्राहक र बजार प्रतिनिधिहरु बिच मंगलवार बिर्तामोडमा छलफल भएको छ । दुई पक्षबिचको छलफलले प्यूरिफायर (पानी छान्ने फिल्टर) नपाएका ग्राहकहरुलाई तत्काल उपलब्ध गराउन प्रहरी मार्फत समन्वय गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

दुई पक्षबिच भएको छलफलका क्रममा अहिलेसम्म प्यूरिफायर समेत नपाएका ग्राहकहरुले लिदैं गर्ने मनस्थितिमा पुगेका हुन् । उनीहरुले प्यूरिफायर वापतको पैसा ३७ हजार ९ सय ४० रुपैयाँ २८ किस्तामा बुझाइसकेका छन् । उनीहरुले पक्राउ परेका सञ्चालकविरुद्ध ठगी मुद्धामा प्रहरीले अनुसन्धान अघि बढाएपछि तत्काललाई लगानी सुरक्षा गर्न प्यूरिफायर लिने मनस्थितिमा पुगेको ग्राहकहरुको धारणा छ । बजार मुल्य अनुसार लगभग १३ हजारमा पाइने प्यूरिफायरमा लक्की ड्रमा समेत सहभागी हुन ग्राहकहरुले रु १३५५ का दरले २८ किस्ता बुझाएका छन् । प्यूरिफायर खरिद गर्ने बहानामा कार जित्ने सपना देखेर सहभागी भएका ग्राहकहरु मुद्धा लम्बिदै गएपछि आफ्नो लगानी सुरक्षाको बाटो खोजिरहेका छन् । ‘मुद्धा चल्दै गर्छ, हामी प्यूरिफायर लिदैं गर्छौ,’ एक ग्राहक भन्छन् ।

दुई पक्षबिच भएको छलफलमा ग्राहक र बजार प्रतिनिधिबिच आवश्यक समन्वयका लागि आग्रह गर्दै इलाका प्रहरी कार्यालय अनारमनीमा निवेदन समेत दिइएको छ । प्रहरीले अनुसन्धान गरिरहेको एनकेको मुद्धामा पक्राउ परेका दुई जनाविरुद्ध मंगलवार तेस्रो पटक ५ दिन म्याद थपिएको छ । प्रहरीले ठगी मुद्धामा अनुसन्धान अघि बढाएपछि ग्राहकहरुले गाउँगाउँमा बजार प्रतिनिधिहरुमाथि लगानी फिर्ताका लागि दबाब दिदैं आएका छन् । ग्राहक र बजार प्रतिनिधिको संयुक्त छलफलले कम्पनी सञ्चालकहरुबाट फिल्टर उपलब्ध गराइदिन प्रहरीलाई आग्रह गरिएको ग्राहक प्रतिनिधि कुमार रसाईलीको भनाई छ ।

प्रहरीले प्यूरिफायर विक्री गर्दा सिधैं उपहार दिइएको हो ? वा लक्की ड्र मार्फत चिठ्ठा प्रकृतिमा उपहार वितरण गरेको हो भन्नेबारे सुक्ष्म अनुसन्धान गरिरहेको छ । एनकेका ९ हजार ९ सय ९९ जनाको जम्मा लगानी ३७ करोड ९३ लाख ६२ हजार ६० रुपैयाँ हुने ग्राहकका प्रतिनिधिहरु बताउँछन् ।

असोज ७ गते बिर्तामोडमा लक्की ड्र कार्यक्रममा विधि मिचिएको आरोपपछि एनकेको नियमित कार्यक्रमहरु नै प्रभावित भएको हो । ग्राहकहरुले असोज २५ गतेभित्र सञ्चालकहरु कानुनी प्रक्रियाबाट बाहिर आउने विश्वास गरेका छन् ।
सञ्चालकहरु बाहिर आएपछि पुरानै शर्त बमोजिम सबै ग्राहकलाई प्यूरिफायर दिनुपर्ने वा नियमपूर्वक लक्की ड्र गरेर पुरस्कार वितरण हुनुपर्ने अडान राखिएको छ । ग्राहकले नियम तथा शर्त नं. ५ उल्लंघन गरेको आरोप लगाएका थिए ।

शेयर गर्नुहोस :

0
Shares