Banner news

बिर्तामोडमा लागेको आगो पूर्ण नियन्त्रणमा

बिर्तामोडमा लागेको आगो पूर्ण नियन्त्रणमा


बिर्तामोड । झापाको बिर्तामोड बजारभित्र रहेको दुई वटा फर्निचर फ्याक्ट्रीमा लागेको आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ । बिर्तामोड–४ भद्रपुर रोडमा लागेको आगो नियन्त्रणमा आएको बिर्तामोडका डिएसपी सन्तोष पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार हर्कराज सुब्बाले सञ्चालन गरेको देवी उडन फर्निचर र कृष्णकुमारी राईको घरमा सञ्चालित दिव्याश्री अग्रवालको जय टे«ड फर्निचर फ्याक्ट्री एण्ड सोरुममा आगलागी भएको थियो । के कारणले आगलागी भएको भन्ने बारे कुनै तथ्य सार्वजनिक भएको छैन । प्रारम्भिक अनुसन्धानमा विद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट नजिकै रहेका घरहरुमा समेत आंशिक क्षति पुगेको छ ।

नेपाली सेनाको अरिदमन गण चारआलीबाट आएको टोली , नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, बिर्तामोड नगरपालिका, मेचीनगर, शिवसताक्षी र कमल गाउँपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार १ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको छ । बिर्तामोडका डिएसपी पाठकका अनुसार एसियन हाइवेको पानी ट्याङकर समेत प्रयोग गरिएको थियो । झण्डै २ घण्टासम्म लागेको आगो नियन्त्रणमा सकस परेको थियो । बजारको बिच भागमा आगलागी हुँदा स्थानीयवासीहरु आगो फैलिने डरले चिन्तित थिए । नजिकै रहेका अन्य २ वटा घरमा सामान्य क्षति भएको छ । आगलागीबाट मानवीय क्षति नभएको जनाइएको छ ।

यता, अर्जुनधारा ३ बस्ने ३९ वर्षीय तिल बहादुर रम्तेलले घरबाट सामान निकाल्ने क्रममा १ तलामाथिबाट हामफाल्दा दाहिने खुट्टामा चोट लागेको छ । उनको बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको छ । प्रहरीले आगलागीबाट भएको क्षतिको विवरण नआएको जनाएको छ ।

शेयर गर्नुहोस :

108
Shares