Banner news

कनकाईमा म्याद गुज्रेका खाद्य सामग्री नष्ट, श्री राम अमिलोलाई ५० हजार जरिवाना

कनकाईमा म्याद गुज्रेका खाद्य सामग्री नष्ट, श्री राम अमिलोलाई ५० हजार जरिवाना


बिर्तामोड । झापाको कनकाई नगरपालिका र अर्जुनधारा नगरपालिका क्षेत्रमा आज गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रेका अखाद्य सामग्रीहरू जफत गरी नष्ट गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा गएको अनुगमन टोलीले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम सो कारबाही गरेको हो ।

कनकाई नगरपालिकाको सुरुङ्गा बजार क्षेत्रमा गरिएको अनुगमनमा अधिकारी किराना पसलबाट रु. ४,१७० बराबरको म्याद नाघेको खाद्य वस्तु जफत गरी नष्ट गरिएको छ । त्यस्तै, गोरखा सपीङ कम्प्लेक्सलाई नाप तौल (ढक तराजु) सम्बन्धी प्रमाणपत्र समयमा नवीकरण गर्न निर्देशन दिइएको छ भने न्यू संगिता ज्वेलरी, पाथिभरा देवी ज्वेलर्स, महालक्ष्मी डेरी पसल र लक्ष्मी पुजा भण्डार सामान्य अवस्थामा रहेको पाइएको छ ।

यसैगरी, अर्जुनधारा नगरपालिका वडा नं. ११ स्थित श्री राम अमिलो भण्डारमा गरिएको अनुगमनका क्रममा रु. २ लाख २० हजार बराबरको अखाद्य अमिलोजन्य पदार्थ जफत गरी नष्ट गरिएको छ भने उद्योग सञ्चालकलाई तत्काल ५० हजार जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, झापाका प्रतिनिधिहरूको सहभागितामा उक्त अनुगमन गरिएको हो ।

शेयर गर्नुहोस :

0
Shares