काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । काँग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेदेखि मतदान सुरु हुने निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले जारी गरेको निर्वाचनसम्बन्धी सूचनामा उल्लेख छ ।
महाधिवेशनमा सहभागी सात हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन् । सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ ।
यसअघि निर्वाचन समितिले आज बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । तर भारी वर्षा तथा केही प्राविधिक कारणले मतदानको समय तीन घण्टापछि सारिएको निर्वाचन समितिले जनाएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार मतदान बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुनेछ । मतदानका लागि महाधिवेशन प्रतिनिधिको प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
निर्वाचन समितिले सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिकाअनुसार बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रियसभा गृहमा रहेको मतदान केन्द्र ‘क’ बाट मतदान गर्नेछन् । खुलामञ्चलाई मतदान केन्द्र ‘ख’ तोकिएको छ । खुलामञ्चमा रहेको कोशी प्रदेश र तराई–मधेस समूहका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ ।
त्यस्तै, खुलामञ्चमा रहेको गण्डकी प्रदेशका प्रतिनिधिले हिमाल हलबाट मतदान गर्ने व्यवस्था गरिएको छ । खुलामञ्चमा रहेको मधेस प्रदेशका प्रतिनिधिका लागि तराई–मधेस हल तोकिएको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधिले खुलामञ्चमा रहेको पहाड हलबाट मतदान गर्नेछन् ।
निर्वाचन समितिले मतदान स्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ । मतदान गर्नुअघि प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ ।
निर्वाचन समितिका अनुसार मतदान स्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न पाइने छैन । प्रतिनिधिले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेपछि मात्र मतदान गर्न पाउनेछन् । मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित विभिन्न पदका केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । नयाँ नेतृत्व चयनका लागि हुने मतदानपछि मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।
पन्ध्रौँ महाधिवेशनले विधान संशोधन गरेर काँग्रेस केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ ।








प्रतिक्रिया