विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले १० वर्ष भन्दा कम उमेरका बढी तौल भएका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया प्रयोग नगर्न सुझाव दिएको छ ।
निर्देशिका सार्वजनिक गर्दै डब्लुएचओले स्वस्थ खानपान, नियमित शारीरिक गतिविधि र दीर्घकालीन व्यवहार परिवर्तनमा आधारित उपचारलाई प्राथमिकता दिन सिफारिस गरेको हो ।
१० देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीमा भने चिकित्सकीय निगरानीमा सञ्चालन हुने बहुआयामिक जीवनशैली कार्यक्रमबाट अपेक्षित सुधार नआएमा मात्रै स्वीकृत औषधिको प्रयोगबारे विचार गर्न सकिने डब्लुएचओको भनाइ छ ।
विशेषगरी टाइप–२ मधुमेह वा उच्च रक्तचापजस्ता स्वास्थ्य समस्या देखिएका र खानपान तथा जीवनशैलीमा सुधारबाट पर्याप्त लाभ नपाएका अवस्थामा यस्तो विकल्प विचार गर्न सकिने डब्लुएचओले जनाएको छ ।
अघिल्लो वर्ष सन् २०२५ डिसेम्बरमा जारी वयस्कसम्बन्धी निर्देशिकामा ओजेम्पिक र माउन्जारोजस्ता जिएलपी–१ वर्गका औषधिसहित तौल घटाउने तथा मधुमेह नियन्त्रणका औषधि प्रयोग गर्न सकिने उल्लेख थियो ।
सन् २०२४ मा विश्वभर ५ देखि ९ वर्ष उमेर समूहका झण्डै सात करोड बालबालिका र १० देखि १९ वर्ष उमेर समूहका झण्डै १० करोड किशोरकिशोरी मोटोपनबाट प्रभावित थिए ।
डब्लुएचओले मोटोपनसँगै बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यमा पनि ध्यान सुझाव दिएका छ ।








प्रतिक्रिया