प्रदीप परियार
बिर्तामोड । झापाको बिर्तामोड –३ स्थित बिर्ताबजार क्षेत्रमा बुधबार मोटरसाइकलले एक मजदुरलाई ठक्कर दियो । ठक्कर दिने मोटरसाइकलको अहिलेसम्म पहिचान हुन सकेको छैन । मोटरसाइकलले ठक्कर दिएर भागेको थियो । ठक्करबाट घाइते एक मजदुर बिर्तासिटी हस्पिटलमा उपचार गरिरहेका छन् ।
यस्तै, असोज १ गते साँझ ७ ः२३ बजे पत्रकार रमेश तिवारीलाई टाटाको योद्धा पिकअपले ठक्कर दिएर भाग्यो । ठक्कर दिने पिकअप अहिलेसम्म फेला परेको छैन । पत्रकार तिवारी एक हप्ता बिएण्डसी अस्पतालमा उपचार गरेर अहिले घरमा आराम गरिरहेका छन् । उनको दाहिने भागको व्यूटिवन र करङ भाँचिएको छ ।
बिर्तामोडको मुख्य चहलपहल हुने क्षेत्र मै दुर्घटनामा संलग्न सवारीहरुको पहिचान गर्न ट्राफिक प्रहरीलाई कठिनाई हुन थालेको छ । बजार क्षेत्रमा सार्वजनिक स्थलको निगरानीका लागि राखिएका १ सय थानभन्दा धेरै सीसी क्यामेरामा क्षति पुगेपछि सुरक्षामा चुनौति समेत थपिदै गएको छ । सीसी क्यामेरा नभएकै कारण माथि उल्लेखित दुर्घटनामा संलग्न सवारीहरुको पहिचान हुन सकेको छैन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले सीसी क्यामेरा नहुँदा असाध्यै समस्या भइरहेको बताए । सीसी क्यामेरा नहुँदा सवारी पहिचानमा समस्या भइरहेको छ । उनका अनुसार दुर्घटना हुँदा सवारी पहिचान गर्न र घटनास्थलको अवस्था जाँचमा कठिनाई हुने गरेको छ । ‘हाम्रो चाहना दुर्घटना नहोस् भन्ने हुन्छ, भवितव्य दुर्घटनामा संलग्न सवारी फरार भएको खण्डमा नियन्त्रणमा लिन समस्या भइरहेको छ,’ राईले भने ।
अहिले प्रहरीले निजी क्यामेराबाट पहिचान गर्ने काम गर्दै आएको छ । निजी घरहरुमा पनि एकाध ठाउँमा मात्र क्यामेरा जडान हुँदा पहिचानमा समस्या भइरहेको छ । कम गुणस्तरका क्यामेराले गाडिका नम्बरहरु हेर्न नसकिने प्रहरीको भनाई छ । पत्रकार रमेश तिवारीलाई ठक्कर दिएको देखिए पनि नम्बर पहिचान गर्न नसकिएको प्रहरीको भनाई छ ।
कोशी प्रदेश सरकार, बिर्तामोड नगरपालिका र समुदायस्तरको सहयोगमा बिर्तामोड बजार क्षेत्रमा पहिलो चरण ६४ वटा सीसी क्यामेरा जडान गरिएको थियो । पछि थप गरेर १२० वटा पु¥याइएको थियो । बजार क्षेत्रसँगै गल्ली–गल्लीमा सीसी क्यामेरा जडान गरेर सुरक्षा निगरानी गरिएको थियो । इलाका प्रहरी कार्यालय अनारमनीभित्र राखिएका ८ वटा ठुला – ठुला मनिटरबाट बजारको निगरानी गर्ने गरिएको थियो । तत्कालिन डिएसपी कृष्ण कोइरालाको अगुवाईमा बिर्तामोडमा २०७५ सालमा सीसी क्यामेरा जडान गर्न सुरुवात गरिएको हो ।
जेनजी आन्दोलनका क्रममा अधिकांश सीसी क्यामेरा पहिलो टार्गेट बनाएर फुटाइएको थियो । १२० वटा क्यामेराबाट हाल १६ वटा मात्र बचेको छ । ८ वटा मनिटरमध्ये १ थान मात्रै सञ्चालनमा रहेको प्रहरीको भनाई छ । सीसी क्यामेरा अभावले प्रहरीलाई समेत सुरक्षा निगरानीमा कठिनाई हुँदै आएको छ ।
बिर्तामोड बजार क्षेत्रको सुरक्षा निगरानीका लागि जडान गरिएका सीसी क्यामेरामा क्षति पुगेपछि अपराध अनुसन्धान कठिनाई भइरहेको छ । मुख्य गरेर बजार क्षेत्रमा हुने संभावित अपराधका घटनामा अनुसन्धान गर्न प्रहरीलाई सीसी क्यामेरा ठुलो सहयोगी साधन बनेको थियो ।
जेनजी आन्दोलनका क्रममा मुख्य राजमार्ग क्षेत्रका सीसी क्यामेरा तोडफोड गर्नुका साथै फाइवर लाइन समेत काटिएपछि क्यामेरा मार्फत हुने निगरानी लगभग बन्द जस्तै भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीले करिव १२० वटा सीसी क्यामेराबाट मुख्य राजमार्ग र भित्री बजार गल्लीहरु निगरानी गर्दै आएको थियो ।
प्रहरीका अनुसार बजार क्षेत्रमा हुने कुनै पनि घटनाको अनुसन्धान गर्न सीसी क्यामेरा अति प्रभावकारी भइरहेको थियो । ‘हिट एण्ड रन’ का घटनामा अनुसन्धान गर्न सीसी क्यामेरा प्रभावकारी हुन्छ । यसअघि पनि दजनौं घटनामा सीसी क्यामेरामा कैद फुटेजका आधारमा अनुसन्धान गर्न सहज भएको थियो ।
प्रहरीका अनुसार बजारमा सुरक्षाका लागि सीसी क्यामेरा अनिवार्य आवश्यकता भएको छ । नागरिकको सुरक्षामा प्रहरीलाई सीसी क्यामेरा सहयोगी भएको थियो । कतिपय दुर्घटनाका घटनामा दोषी पत्ता लगाउन पनि सीसी क्यामेराको फुटेज उपयोगी हुँदै आएको थियो ।
सीसी क्यामेराको फुटेजका कारण एक जना भारतीय नागरिकलाई पक्राउ गरिएको थियो । ठुलो परिमाणमा सुन चोरी गरेर सैलुनमा दारी काट्दै गर्दा सीसी क्यामेराकै मद्दतबाट प्रहरीले पक्राउ गर्न सफल भएको थियो । क्यामेरा हुँदा दर्जनौ पटक मान्छे भेटिए , हराएका ब्याग, सामानहरु सीसी क्यामेराबाट फेला परेको प्रहरीको भनाई छ । दिउँसो हुने कुनै पनि घटनाको अनुसन्धानमा प्रहरीलाई सीसी क्यामेराको फुटेजले अनुसन्धानमा सहयोग पुगिरहेको थियो ।
इप्रका बिर्तामोडको कार्यक्षेत्र पूर्वमा देउनिया पुल र पश्चिममा सुरुङासम्म सीसी क्यामेरा जडान गरिएको थियो । सीसी क्यामेरा भएका कारण अन्य समस्या भएका व्यक्तिहरु पनि इप्रकामा सहयोग लिन पुगिरहेका हुन्थे । बढ्दो बजार बिर्तामोडमा सीसी क्यामेरा नहुँदा दिनप्रतिदिन सुरक्षा चुनौति बढ्दै गइरहेको छ ।








प्रतिक्रिया