झापा । झापाको शिवसताक्षी नगरपालिकामा मनसुनजन्य बाढी तथा डुबानको पूर्वतयारी, पूर्वकार्य, प्रतिकार्य र पुनर्लाभसम्बन्धी टेबलटप गोलबद्ध अभ्यास गरिएको छ। विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा विपद्का बेला तत्काल उद्धार, राहत र पुनःस्थापनाका कार्यलाई व्यवस्थित बनाउने उद्देश्यले नगरपालिकाको सभाहलमा अभ्यास गरिएको हो।
शिवसताक्षी नगरपालिकाका कार्यक्रम अधिकृत महेश लामिछानेका अनुसार नगरप्रमुख मेगाहाङ थोप्राको संयोजकत्वमा रहेको विपद् व्यवस्थापन संयन्त्रअन्तर्गत विभिन्न शाखा तथा सरोकारवाला निकायका प्रतिनिधिलाई एकै ठाउँमा राखेर अभ्यास गराइएको हो। कार्यक्रममा विपद् व्यवस्थापन शाखा, कृषि शाखा, महिला तथा बालबालिका शाखा, शिक्षा शाखा, नेपाल रेडक्रस सोसाइटी, नगर प्रहरी, नेपाल प्रहरीलगायतका निकायका प्रतिनिधिको सहभागिता थियो।

अभ्यासका क्रममा सहभागीहरूलाई समग्र व्यवस्थापन, सूचना तथा खोज र उद्धार, शीघ्र पुनर्लाभ, आपत्कालीन आश्रय तथा गैरखाद्य सामग्री, संरक्षण तथा सुरक्षा, आपत्कालीन शिक्षा, स्वास्थ्य तथा पोषण र खानेपानी तथा सरसफाइ प्रवर्द्धनलगायतका विषयगत समूहमा विभाजन गरिएको थियो। त्यसपछि कृत्रिम बाढी तथा डुबानको परिस्थिति सिर्जना गरी सम्बन्धित समूहले निर्वाह गर्नुपर्ने भूमिका र जिम्मेवारीबारे अभ्यास गराइएको थियो।
बाढी आएपछि अपनाउनुपर्ने आपत्कालीन प्रतिकार्य, डुबानमा परेका नागरिकको उद्धार तथा पुनःस्थापना, आपत्कालीन खाद्य सामग्री वितरण, सडक, खानेपानी र विद्युत् सेवा सञ्चालन तथा प्रभावित क्षेत्रका विद्यार्थीको सिकाइ निरन्तरतालगायतका विषयमा छलफल गरिएको थियो। विपद्का बेला सम्बन्धित निकायले आफ्नो जिम्मेवारी कसरी निर्वाह गर्ने र आपसी समन्वयमार्फत उद्धार तथा राहतका कामलाई कसरी छिटो र प्रभावकारी बनाउने भन्ने विषयमा अभ्यास केन्द्रित थियो।
शिवसताक्षी नगरपालिकाका अनुसार विपद् व्यवस्थापनसम्बन्धी पूर्वतयारीलाई थप प्रभावकारी बनाउने, सरोकारवाला निकायको क्षमता अभिवृद्धि गर्ने र विपद्का बेला छिटो उद्धार तथा व्यवस्थापनका कार्य सञ्चालन गर्न यस्तो अभ्यास गरिएको हो।
शिवसताक्षी नगरपालिकाको कनकाई नदी, कमल तथा बनियानी खोलालगायतका नदी तथा खोला किनारका क्षेत्रमा वर्षेनि बाढी र डुबानको समस्या देखिँदै आएको छ। नगरपालिकाका वडा नं. ४,५, ६, ७ र १० लाई विपद् जोखिमयुक्त क्षेत्रका रूपमा लिइएको छ।
कार्यक्रममा नगरप्रमुख मेगाहाङ थोप्राले विपद् व्यवस्थापनका लागि नगरपालिकाले गर्दै आएका प्रयासलाई थप प्रभावकारी बनाउन र विपद्का बेला छिटो प्रतिकार्य गर्न सरोकारवाला निकायलाई तालिम तथा अभ्यासमार्फत नियमित रूपमा अद्यावधिक गराउन आवश्यक रहेको बताउनुभयो। उहाँले शिवसताक्षी क्षेत्रमा बाढी तथा खोला कटानका कारण विभिन्न समयमा नागरिकले समस्या भोग्दै आएको उल्लेख गर्दै नागरिकको जीउधनको सुरक्षाका लागि नगरपालिकाले आफ्नो क्षमताअनुसार काम गर्दै आएको बताउनुभयो।
कार्यक्रममा नगर उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फेलगायत सहभागीले टेबलटप गोलबद्ध अभ्यासबाट महत्वपूर्ण सिकाइ प्राप्त भएको बताएका थिए। विपद्का बेला सबै सरोकारवाला निकायलाई एकीकृत रूपमा परिचालन गर्न सके उद्धार, राहत तथा व्यवस्थापनका काम छिटो र प्रभावकारी हुने उनीहरूको भनाइ थियो।
कोशी प्रदेशका विपद् विज्ञ रामकुमार दाहालले अभ्यासको सहजीकरण गर्नुभएको थियो। शिवसताक्षी नगरपालिकाको आयोजनामा सञ्चालित कार्यक्रम गत असोज २१ गते प्रारम्भिक कार्यशालाबाट सुरु भएको हो। नगरपालिकाका अनुसार कार्यक्रमको समापन डेमो प्रदर्शनसहित गरिनेछ। कार्यक्रममा डब्लुएफ सहयोगी संस्था र सन्जेड सहआयोजकका रूपमा रहेका छन्।








प्रतिक्रिया