काठमाडाैं, २४ असाेज । सोह्र श्राद्ध (पितृ पक्ष) को अन्तिम तिथि अर्थात् आश्विन कृष्ण औंसी लाई पितृ विसर्जन, औंसी (दर्श) श्राद्ध वा महालया औंसी भनिन्छ। हिन्दु धर्म परम्परामा यस दिनको विशेष धार्मिक तथा आध्यात्मिक महत्त्व रहेको छ।
प्रतिपदादेखि सुरु भएको १५/१६ दिनको पितृ पक्ष आजकै दिन समापन हुन्छ। शास्त्र अनुसार सोह्र श्राद्धका अवधिमा मर्त्यलोक (पृथ्वी) मा आएका पितृहरूलाई यसै औंसीका दिन श्रद्धापूर्वक जल, तिल, कुश र पिण्ड अर्पण गरी पुनः पितृलोकमा बिदाइ गरिन्छ। त्यसैले यसलाई पितृ विसर्जन भनिएको हो।
कतिपय अवस्थामा आफ्ना दिवङ्गत पितृहरूको मृत्यु तिथि बिर्सिएको, अघिल्ला तिथिहरूमा विविध कारणले श्राद्ध वा तर्पण गर्न छुटेको वा तिथि फेरबदल भएको अवस्थामा आज (औंसी) का दिन विधिपूर्वक श्राद्ध गर्दा सबै पितृहरूसम्म पुग्ने र उनीहरू तृप्त हुने विश्वास गरिन्छ।
आजको दिन गरिने श्राद्धलाई ‘पार्वण श्राद्ध’ वा ‘दर्श श्राद्ध’ पनि भनिन्छ। यस दिन मुख्य रूपमा तीन पुस्ताका (बुबा, हजुरबुबा, जिजुबुबा र आमा, हजुरआमा, जिजुआमा) साथै मामाघर तर्फका र अन्य कुलकुटुम्बका पितृहरूलाई समेत पिण्डदान र तर्पण अर्पण गरिन्छ।
विधि र प्रक्रिया
तर्पण तथा पिण्डदान: बिहानै पवित्र नदी, कुण्ड वा घरमै स्नान गरी पवित्र भई हातमा कुश धारण गरेर पितृहरूलाई जल, तिल र जौ अर्पण गरी तर्पण दिइन्छ। सम्भव भएमा पुरोहितको उपस्थितिमा पिण्डदान गरिन्छ।
ब्राह्मण भोजन र सिधा दान: श्राद्ध सम्पन्न गरेपछि ब्राह्मण, पुरोहित, भान्जा-भान्जी तथा तीर्थालुहरूलाई भोजन गराइन्छ। यदि पूरा श्राद्ध गर्न सम्भव नभएमा सिधा (दाल, चामल, तरकारी, घिउ, फलफूल, दक्षिणा) निकालेर दान गर्ने र गाई, काग तथा कुकुरलाई भोजन गराउने चलन छ।
पितृदोष निवारण र आशीर्वाद
कुण्डली वा जीवनमा देखिने पितृदोष, पारिवारिक अशान्ति तथा बाधा-अड्चन निवारणका लागि महालया औंसीका दिन गरिने जप, तर्पण र दान अत्यन्त फलदायी मानिन्छ। पितृहरू प्रसन्न भई आशीर्वाद दिँदा परिवारमा सुख, शान्ति, समृद्धि र वंश वृद्धि हुने धार्मिक मान्यता छ।
दुर्गा पक्ष (बडादसैँ) को सुरुवात
सोह्र श्राद्ध (पितृ पक्ष) को समाप्तिसँगै भोलिपल्ट (आश्विन शुक्ल प्रतिपदा) देखि दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ। पितृहरूलाई बिदाइ गरेपछि घटस्थापना गरी नवदुर्गा भवानीको पूजा-आराधनाको महापर्व प्रारम्भ हुने गर्दछ।








प्रतिक्रिया