झापा । नेकपा एमाले शिवसताक्षी नगर कमिटीले पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र गतिशील बनाउने उद्देश्यसहित ‘मिसन जागरण अभियान’ सुरु गरेको छ। शुक्रबार झापाको शिवसताक्षी नगरपालिका–६, शिवगञ्जमा नगरस्तरीय एकदिवसीय कार्यशाला तथा विस्तारित बैठक आयोजना गर्दै नगर कमिटीले अभियानको शुभारम्भ गरेको हो।
नेकपा एमाले शिवसताक्षी नगर कमिटीको आयोजनामा सम्पन्न कार्यशालामा पार्टीको संगठनात्मक अवस्था, आगामी कार्यदिशा, नेता तथा कार्यकर्ताको भूमिका र संगठनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। कार्यशालाले पार्टीको आन्तरिक संगठनलाई बलियो बनाउँदै तल्लो तहसम्म पार्टी गतिविधिलाई सक्रिय र व्यवस्थित बनाउने लक्ष्य लिएको जनाइएको छ। 
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज रोमनाथ ओलीको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी, पार्टीका केन्द्रीय सदस्य मनोज ताम्ली र प्रदेश कमिटी सदस्य चन्द्रकुमार शेर्माले ‘मिसन पार्टी जागरण अभियान’ को उद्देश्य, आगामी कार्यदिशा तथा नेता–कार्यकर्ताले निर्वाह गर्नुपर्ने जिम्मेवारीका विषयमा महत्वपूर्ण धारणा राखेका थिए।
कार्यशालामा पार्टी संगठनलाई जनतासँग थप नजिक बनाउने, कार्यकर्तामा नयाँ उत्साह र ऊर्जा भर्ने तथा पार्टीका नीति, विचार र कार्यक्रमलाई प्रभावकारी रूपमा जनस्तरसम्म पुर्याउने विषयमा छलफल भएको थियो। अभियानलाई सफल बनाउन सबै तहका नेता तथा कार्यकर्ताले आ–आफ्नो जिम्मेवारी सक्रियतापूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिइएको थियो।
कार्यशालाले शिवसताक्षी नगरपालिकाका ११ वटै वडामा उत्प्रेरक तोक्ने निर्णय गर्दै विभिन्न जिम्मेवारीसमेत बाँडफाँट गरेको छ। साथै, आगामी तीन महिनाभित्र सम्पन्न गर्नुपर्ने संगठनात्मक गतिविधि, कार्यकर्ता परिचालन तथा पार्टीका कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने लक्ष्यसहित तीनमहिने कार्ययोजना तयार गरिएको छ।
नगर कमिटीले अभियानमार्फत वडा तहसम्म पार्टी संगठनलाई चुस्त, दुरुस्त र क्रियाशील बनाउने, नेता तथा कार्यकर्ताबीच समन्वय बढाउने र पार्टीका गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ। कार्यशाला विस्तारित बैठकका रूपमा समेत सम्पन्न भएको आयोजकले जनाएको छ।
कार्यक्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्तासहित सम्पूर्ण जनसंगठनका पदाधिकारी, वडा कमिटीका पदाधिकारी, विभिन्न विभागीय जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
नेकपा एमाले शिवसताक्षी नगर कमिटीका अध्यक्ष मेदनी दंगालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नगर कमिटीका सचिव लक्ष्मी गुरागाईंले गरेका थिए।








प्रतिक्रिया