खेल

१० औँ राष्ट्रिय खेलकुद : झापा जिल्लास्तरीय छनोट सुरु

१० औँ राष्ट्रिय खेलकुद : झापा जिल्लास्तरीय छनोट सुरु


रोहित काफ्ले

झापा । आगामी मंसिरमा सञ्चालन हुने तय भएको दशौँ राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै झापामा जिल्लास्तरीय छनोट प्रतियोगिता आजदेखि सुरु भएको छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको सूचनाअनुसार खेलाडी दर्ता प्रक्रिया पूरा भएसँगै आजदेखि जिल्लाका विभिन्न स्थानमा २५ विधाका खेलको छनोट प्रतियोगिता सञ्चालन भएको हो ।

मेची रंगशालास्थित कभर्ड हलमा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शेखर कँडेलको अध्यक्षतामा आयोजित समारोहका बीच प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाकी उपप्रमुख शान्ता रोक्काले प्रतियोगिता उद्घाटन गरिन् । तेक्वान्दो खेलबाट सुरु भएको प्रतियोगिताको प्रमुख अतिथि रोक्काले तेक्वान्दो खेलका प्शिक्षकलाई खेल सामग्री हस्तान्तरण गरेर उद्घाटन गरेकी थिइन् ।

समितिकी सदस्य इन्दु न्यौपानेले सञ्चालन गरेको उद्घाटन समारोहमा प्रमुख अतिथि रोक्का, भद्रपुर नगरपालिकाका निवर्तमान प्रमुख तथा भद्रपुर झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठ, करातेका पूर्व प्रशिक्षक मदन उप्रेती, तेक्वान्दो संघ झापाका अध्यक्ष कुमार भट्टराईलगायतले शुभकामना मन्तव्य राख्दै राष्ट्रिय खेलकुदमा सहभागी बन्ने लक्ष्यका साथ खेल प्रदर्शन गर्न खेलाडीहरुलाई आग्रह गरे ।

समितिका अध्यक्ष कँडेलले सीमित स्रोत–साधनका वावजुत झापामा २५ विधाका खेल सञ्चालन हुने बताउँदै प्रतिायेगिताका लागि साथ–सहोग गर्ने स्थानीय तहहरुलाई धन्यवाद व्यक्त गरे । उनले छनोटका सबै खेल मर्यादित र पारदर्शी ढंगले सञ्चालन हुने पनि विश्वास व्यक्त गरे । समारोहमा समितिकी उपाध्यष लक्ष्मी देवानले स्वागत गरेकी थिइन् ।

पहिलो दिन मेची रंशालामा तेक्वान्दो र ब्याडमिन्टनका खेल भएका छन् भने कनकाईमा भलिबल र दमकमा बुद्धिचालका खेलहरु भएको कार्यालय प्रमुख विष्णुकुमार नेम्बाङले जानकारी दिएका छन् ।

करिब ७५० खेलाडी र एकसय बढी प्रशिक्षक–निर्णायकको सहभागिता रहेको छनोट प्रतियोगिताअनतर्गत मेची रंगशालामा कबड्डी, आर्चरी, ब्याडमिन्टन, जुडो र भारत्तोलनको छनोट खेल हुनेछ । भद्रपुरकै सेन्ट जेभियर्स स्कूलमा एथलेटिक्स खेलाइनेछ ।

त्यस्तै दमकमा आईटीएफ कराते र बुद्धिचाल, कनकाईमा भलिबल, अर्जुनधारामा फुटबल, कराते, तेक्वान्दो र उसु, विर्तामोडमा बक्सिङ, शारीरिक सुगठन, टेबलटेनिस र बास्केटबल र मेचीनगरमा क्रिकेट खेलको छनोट प्रतियोगिता हुने समितिका अध्यक्ष शेखर कँडेलले जानकारी दिए । उनका अनुसार साइक्लिङ, हक्की, रग्बी, पोडी, कुस्ती, सेपाक्ताक्रो र सुटिङका लागि दर्ता भएका खेलाडीहरुले सोझै कोशी प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
झापामा आजदेखि सुरु छनोट प्रतियोगिताबाट छनोटमा परेका खेलाडीले प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउने अध्यक्ष कँडेलले जानकारी दिए ।

शेयर गर्नुहोस :

108
Shares