कचनकवल

भद्रपुर र कचनकवल क्षेत्रमा बजार अनुगमन

भद्रपुर र कचनकवल क्षेत्रमा बजार अनुगमन


बिर्तामोड । झापाको भद्रपुर र कचनकवल क्षेत्रमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका तथा अखाद्य वस्तु बिक्रीवितरण गर्ने केही पसलहरूलाई कारबाही गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, झापाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा कचनकवल गाउँपालिकाको बनियानी बजार र भद्रपुर नगरपालिकाको भद्रपुर बजार क्षेत्रमा संयुक्त बजार अनुगमन गरिएको हो ।
अनुगमन टोलीमा कचनकवल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, घरेलु तथा साना उद्योग कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उपभोक्ता जागरण अभियान नेपाल, स्थानीय प्रहरी, बजार व्यवस्था समितिका प्रतिनिधि र पत्रकारहरूको सहभागिता रहेको थियो । उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली, २०७६ बमोजिम गरिएको सो अनुगमनमा कचनकवल–६ स्थित अभिषेक किराना पसलबाट दुई हजार नौ सय १० रुपैयाँ बराबरको म्याद नाघेको खाद्य वस्तु जफत गरी नष्ट गरिएको छ । यसैगरी, ओम शान्ति मिष्टान्न भण्डारबाट तीन हजार चार सय ५० रुपैयाँ बराबरको अखाद्य वस्तु जफत गरी नष्ट गर्नुका साथै १५ हजार रुपैयाँ जरिवाना समेत गरिएको छ ।

दर्पण डेरीबाट एक हजार छ सय १० रुपैयाँ र राजेन्द्र स्टोरबाट ८० रुपैयाँ बराबरको म्याद गुज्रिएको वस्तु जफत गरी नष्ट गरिएको छ । अनुगमन गरिएका पसलहरूमध्ये एनएमसी डिपार्टमेन्ट स्टोर, सुरवी कोल्ड स्टोर (भद्रपुर–४), र जोत्स्ना फलफूल पसल सामान्य अवस्थामा रहेका थिए । त्यसैगरी, विभिन्न ९ वटा पसलमा ढक–तराजुको अनुगमन गरी आवश्यक निर्देशन समेत दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

शेयर गर्नुहोस :

108
Shares