मुख्य समाचार

बुढीगण्डकी बाढीबाट दुई सयभन्दा धेरै परिवार विस्थापित

बुढीगण्डकी बाढीबाट दुई सयभन्दा धेरै परिवार विस्थापित


काठमाण्डौ – गोरखाको बुढीगण्डकी नदीमा हिजो आएको बाढीबाट गोरखा र धादिङका दुई सयभन्दा धेरै परिवार विस्थापित भएका छन् ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार गोरखाको चुमनुब्रीमा ४३, धार्चेमा ३९, आरुघाटमा ६४ तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा ५८ परिवार विस्थापित भएका छन् ।

बाढी प्रभावित क्षेत्रमा राहत वितरण पनि शुरु भएको प्राधिकरणले जनाएको छ । गोरखाको चुमनुब्री, धार्चे र आरुघाट तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा आवश्यक खाद्यान्न, लत्ताकपडासहितका अरु सामग्री पठाइएको प्राधिकरणको भनाइ छ ।

बाढीले ४५ घर पूर्ण र २७ घरमा आंशिक क्षति भएको छ । त्यस्तै, ३४ गोठ र बंगुरका १२ खोरमा क्षतिसँगै तीनवटा गाडी बगाएको छ । दर्जनौँ घर डुबानमा परेका छन्  । दुई पक्की पुल, एक बेलिब्रिज र दुई झोलुंगे पुल बगाएको छ भने चार जलविद्युत् आयोजना प्रभावित भएका छन् ।

बाढीमा पाँच व्यक्ति बेपत्ता भएको विवरण छ । नौै विदेशीसहित ८२ जनाको उद्धार भएको छ । बुढीगण्डकीको सहायक नदी स्यारखोला सुक्खा पहिरोले थुनिँदा बाढी आएको प्रारम्भिक निष्कर्ष छ । प्राधिकरणका अनुसार चुमनुब्री गाउँपालिका– ६, चुम्लिङनजिकैको उङ्गिलुङ खोलाबाट बहाब र गेग्य्रान आएर स्यारखोला थुनिएको थियो ।

स्यारखोला थुनिएर केही समयपछि फुट्दा बुढीगण्डकीमा लेदोसहितको बाढी आएको प्रारम्भिक आकलन रहेको प्राधिकरणले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares