बिर्तामोड । एनके प्यूरिफायर बिर्तामोड विवादमा तानिएपछि अन्यौलमा परेका ग्राहकहरुले पैसा फिर्ताको माग गर्न थालेका छन् । पैसा फिर्ता र फिल्टर लिनेबारे छलफल भइरहेको एक ग्राहकले जानकारी दिए ।
चाडैं छिनोफानो होला भन्ने अपेक्षा गरेका ग्राहकहरुले मुद्धा लम्बिएपछि पैसा फिर्ताको मागलाई जोड दिएका छन् । लक्की ड्रमा सहभागी हुन मात्रै फिल्टर लिएको बताउने ग्राहकहरुले पैसा नै फिर्ता हुनुपर्ने अडान लिएका हुन् । उनीहरुले फिल्टरको आवश्यक नरहेकोले पैसा नै फिर्ता हुनुपर्ने माग गर्न थालेका छन् । १५ हजारको फिल्टर लिएर ग्राहकको लगानी असुली नहुने अधिकांशको तर्क छ ।

यता, ग्राहकहरुको प्रतिनिधि बनेका अगुवाहरुले नियम बमोजिम लक्की ड्र सञ्चालनको वातावरण बनाउनुपर्ने बताउँदै आएका छन् । पैसा फिर्ताको विषय अहिले नै सकारात्मक नहुने केहि प्रतिनिधिको भनाई छ । लक्की ड्र सञ्चालन गरेर उपहार लिनुपर्ने तर्क प्रतिनिधिको छ । यसअघि पनि ग्राहकहरुले उपहार र फिल्टर लिइसकेका छन् । फिल्टर नपाउने ग्राहकहरुले अब पैसा नै फिर्ता हुनुपर्ने मागलाई बलियो रुपमा उठाइरहेका छन् ।
दशैंअघि लक्की ड्र सञ्चालन हुने आशामा बसेका ग्राहकहरुले कुनै निधो नपाएकै कारण पैसा फिर्ता गर्नुपर्ने बताएका हुन् । ग्राहक बनाउने एजेन्टसँग सम्पर्क गरेर फिल्टर लिन भनिएपछि धेरैले सम्पर्क गरेका थिए । एजेन्टहरु ग्राहकसँग सम्पर्कमा नआउने, फोन नलाग्ने समस्याका कारण सिधैं कम्पनीले पैसा फिर्ता गर्नुपर्ने ठाउँमा उनीहरु पुगेका हुन् । केहि एजेन्टले दशैंपछि मात्रै फिल्टर लिन भनेपछि ग्राहकहरु झनै रिसाएका छन् ।
युनिटी लाइफमा जस्तै मुद्धामामिला लम्बिदै गर्दा ग्राहकको लगानी डुब्ने खतरा बढेपछि ग्राहकहरु लगानी सुरक्षाका लागि एकजुट हुन थालेका छन् । ग्राहकका प्रतिनिधिले पैसा फिर्ता गराउनुको बदलामा लक्की ड्र मै जोड दिंदा कतिपय ग्राहकले शंका गर्न थालेका छन् ।
कम्पनीमा ९ हजार ९९९ जना सदस्यले ३७ हजार ९ सय ४० रुपैयाँ बुझाइसकेका छन् । १३ किस्तामा उनीहरुले उक्त रकम बुझाएका हुन् । कम्पनीले २८ किस्तामा ग्राहकहरुबाट जम्मा ३७ करोड ९३ लाख ६२ हजार ६० रुपैयाँ संकलन गर्ने गरेको छ ।
कार उपहार जित्ने सपनामा लगानी गरेका ग्राहकहरुले विधि विपरित लक्की ड्र सञ्चालनमा विरोध जनाउँदा यो अवस्थामा पुगेको जानकारहरु बताउँछन् । विवाद गरेर प्रहरी, प्रशासन नगएको थियो भने अहिलेसम्म मिलिसक्ने थियो, उनले भने । ग्राहकहरु आत्तिएका कारण मुद्धा बनेको बुझाई छ ।
गत असोज ७ गते बिर्तामोडमा आयोजित उपहार वितरण कार्यक्रममा विधि विपरित लक्की ड्र सञ्चालन गरेको ग्राहकहरुले आरोप लगाएका थिए । सोही क्रममा विवाद हुँदा उपहार वितरण कार्यक्रम नै प्रभावित भएको थियो । ग्राहकहरुले तत्कालै एनकेविरुद्ध इलाका प्रहरी कार्यालयमा निवेदन दिदैं आवश्यक कारबाहीका लागि माग गरेका थिए ।
ग्राहकले इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएर पारदर्शी रुपमा लक्की ड्र सञ्चालन गर्नुपर्ने माग राखेका थिए । ग्राहकको निवेदनपछि जिल्ला प्रशासन कार्यालय झापाले प्रहरीलाई आवश्यक अनुसन्धान गर्न निर्देशन दिएको थियो । प्रहरीले एनकेविरुद्ध ठगी मुद्धामा अनुसन्धान गरिरहेको छ । सञ्चालकमध्ये दुई जनालाई नियन्त्रणमा लिई म्याद थप गर्दै अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ । प्रहरीले कम्पनीको इजाजत, लक्की ड्र सञ्चालन गर्न पाउने÷नपाउने विषय र उपहार वितरणको पारदर्शीतालाई हेरिरहेको छ । प्रहरीका एक अनुसन्धान अधिकृतका अनुसार फिल्टरको मुल्य र मुनाफाबारे पनि प्रहरीले अध्ययन गरिरहेको छ ।
कम्पनीले २४ औं स्किमको सेकेण्ड स्टेजमा प्यूरिफायर वितरण नगरी अघि बढेपछि ग्राहकहरुले धाँदलीको आरोप लगाएका थिए । उनीहरुले नियम तथा शर्त नं. ५ उल्लंघन गरेको आरोपमा प्रशासनमा कारबाहीका लागि निवेदन दिएका हुन् ।
‘दोस्रो चरणमा कुनै पनि सामग्री नपरी खाली हात भई आएका ११ जना ग्राहकहरुमध्ये १० जनालाई पुस्तिका तालिकामा उल्लेख भएको मोटरसाईकल तथा स्कुटरहरु गोलाप्रथाद्वारा प्रदान गरिनेछ । साथै अन्तिममा बचेको केही नपर्ने १ जना सबैभन्दा भाग्यमानी ग्राहकले स्तवः कार प्राप्त गर्नुहुनेछ ’ भन्ने शर्त उल्लंघन गरेर अर्को चरणमा प्रवेश गरेपछि ग्राहकहरुले आपत्ति जनाएका हुन् ।








प्रतिक्रिया