काठमाडाैं, २८ असाेज । बडा दशैं अन्तर्गत नवरात्राको चौथो दिन देवी दुर्गाका नौ रूपमध्ये चौथो स्वरूप कुष्माण्डा देवीको पूजा-आराधना गरिन्छ।
पौराणिक मान्यता अनुसार, जब यो ब्रम्हाण्डमा चारैतिर अन्धकार थियो र कुनै पनि सृष्टिको अस्तित्व थिएन, तब माता कुष्माण्डाले आफ्नो ‘ईषत् हास्य’ (मन्द मुस्कान) ले यो ब्रम्हाण्डको रचना गरेकी थिइन । त्यसैले उनलाई सृष्टिको आदिस्वरूपा वा सृष्टिकर्त्री मानिन्छ।
नामको अर्थ: ‘कु+ष्माण्ड+आ’ शब्दबाट यो नाम बनेको हो। संस्कृतमा ‘कुष्माण्ड’ भनेको कुभिन्डो (एक किसिमको फल) हो। ब्रम्हाण्डलाई सानो कुभिण्डो जस्तै आफ्नो गर्भमा धारण गर्न सक्ने शक्ति भएकाले उनको नाम ‘कुष्माण्डा’ रहन गएको हो। उनको बास सूर्यमण्डलको भित्री लोकमा छ, जहाँ बस्न सक्ने क्षमता अन्य कुनै देवी-देवतामा छैन। सूर्य जस्तै तेजिलो कान्ति र प्रभायुक्त उहाँले समस्त ब्रम्हाण्डलाई आफ्नो उज्यालो र ऊर्जा प्रदान गर्छिन भन्ने धार्मिक मान्यता रहेकाे छ ।
माता कुष्माण्डाका आठ वटा हात छन्, जसलाई अष्टभुजा पनि भनिन्छ। उनका सात वटा हातमा क्रमशः कमण्डलु, धनुष, बाण, कमलको फूल, अमृतले भरिएको कलश, चक्र र गदा सुशोभित छन् भने आठौँ हातमा सबै प्रकारका सिद्धि र निधि दिने जपमाला (माला) रहेको छ। उनको वाहन सिंह हो।
नवरात्राकाे चौथो दिनको पूजाको आरम्भ घटस्थापना गरिएका कलश नजिकै बसेर माता कुष्माण्डाको ध्यान गरेर गरिन्छ। मातालाई विशेष गरी कुभिन्डोको बली वा फल अर्पण गर्नु अत्यन्त शुभ मानिन्छ। यसबाहेक राता रङ्गका फूलहरू, अक्षता, धुप, दीप, नैवेद्य तथा फलफूल चढाएर पूजा गरिन्छ। माता कुष्माण्डालाई मालपुवा, दूध तथा दूधबाट बनेका परिकारहरूको भोग लगाउने चलन छ। पूजा पश्चात् प्रसाद ग्रहण गर्दा आरोग्य र दीर्घायु प्राप्त हुने जनविश्वास छ।
पूजाको समयमा देवीको निम्ति निम्न मन्त्रको उच्चारण गरिन्छ: ॐ देवी कुष्माण्डायै नमः॥ ध्यान मन्त्र: सुरासम्पूरकलशं रुधिराप्लुतमेव च। द हस्तपद्माभ्यां कुष्माण्डा शुभदास्तु मे॥
माता कुष्माण्डाको आराधना गर्नाले भक्तहरूको रोग, शोक र भय नाश हुनुका साथै आयु, यश, बल र धन प्राप्त हुने धार्मिक विश्वास रहेको छ।








प्रतिक्रिया