काठमाडाैं, २९ असाेज । बडा दशैंको महानवरात्र अन्तर्गत पाँचौँ दिन नवदुर्गा भवानीको पाँचौँ स्वरूप माता स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ।
भगवान् स्कन्द (कार्तिकेय) की माता भएकाले देवीको यो नाम ‘स्कन्दमाता’ रहन गएको हो। स्कन्द कुमार (कार्तिकेय) देवसेनाका सेनापति हुन्। पौराणिक ग्रन्थहरूमा स्कन्दमातालाई कुमार कार्तिकेयकी बाल्यकालकी रूपरेखा हेर्ने वा उनलाई काखमा राखी ममता प्रदान गर्ने देवीका रूपमा वर्णन गरिएको छ। माता स्कन्दमाताको वाहन सिंह हो। सिंहमा सवार भई भक्तहरूलाई वरदान दिने हुनाले उनलाई ‘सिंहवाहिनी’ पनि भनिन्छ।

देवी स्कन्दमाता चार हातयुक्त हुनुहुन्छ। उनका दुई हातमा कमलका फूलहरू शोभायमान छन् भने एउटा हातमा भगवान् स्कन्द (बालरूपमा) काखमा विराजमान छन् । अर्को हातले भक्तहरूलाई अभय प्रदान गर्नेमुद्रा (अभयमुद्रा) मा रहेकी छिन । उनी सेतो वस्त्रमा सुशोभित छिन र उनको मुहारमा अलौकिक तेज तथा शान्तिको आभा देखिन्छ।
पौराणिक मान्यता अनुसार, दैत्यराज तारकासुरले कठोर तपस्याबाट भगवान् शिवबाट वरदान प्राप्त गरेका थिए कि उनको मृत्यु केवल शिवपुत्रद्वारा मात्र हुन सक्छ। तारकासुरले आफ्नो यो वरदानको बलमा स्वर्ग र पृथ्वीमा ठूलो आतंक मच्चाए ।देवताहरूको प्रार्थनापछि भगवान् शिव र देवी पार्वतीका पुत्रका रूपमा भगवान् स्कन्द (कार्तिकेय) को जन्म भयो। देवी पार्वतीले आफ्ना पुत्र स्कन्द (कार्तिकेय) लाई युद्धकला, ज्ञान र पराक्रममा प्रशिक्षित गरिन् र देवताहरूको सेनाको सेनापति बनाइन्। यसरी स्कन्दकी माताका रूपमा देवीले असुर तारकासुरको वध गराउन आफ्ना पुत्रलाई तयार पार्दै सम्पूर्ण ब्रह्मांडको रक्षा गरिन्। त्यसैले मातृवात्सल्य र शक्तिको यो अद्वितीय रूपलाई स्कन्दमाता भनिएको हो।
स्कन्दमातालाई मातृत्व, वात्सल्य, स्नेह र सन्तान सुखकी देवी मानिन्छ। नि:सन्तान दम्पतीहरू वा सन्तानको उत्तरोत्तर प्रगतिको कामना गर्नेहरूका लागि स्कन्दमाताको पूजा अति नै फलदायी मानिन्छ। उनले भक्तहरूको ज्ञानको दायरा फराकिलो पार्नुका साथै मनको अशान्तिलाई टाढा गरी सुख, शान्ति र समृद्धि प्रदान गर्नुहुन्छ। नवरात्रको पाँचौँ दिन साधकको मन ‘विशुद्ध चक्र’ मा प्रवेश गर्छ। स्कन्दमाताको उपासना गर्नाले भक्तहरूलाई अलौकिक तेज र ब्रह्मलौकिक ज्ञान प्राप्त हुने धार्मिक विश्वास छ।
पाँचौँ दिन बिहान स्नान गरी शुद्ध भएर माताको मूर्ति वा फोटोलाई रातो वा सेतो वस्त्र अर्पण गरिन्छ। मातालाई फूल, अक्षता, धूप, दीप, नैवेद्य (विशेष गरी केरा वा मिठाई) चढाएर श्रद्धापूर्वक पूजा गरिन्छ।
ध्यान मन्त्र: सिंहासनगता नित्यं पद्माश्रितकरद्वया। शुभदा सदा देवी स्कन्दमाता यशस्विनी॥
आजको यस पवित्र दिनमा माता स्कन्दमाताको श्रद्धापूर्वक स्मरण, मन्त्रजप र पूजा गर्नाले परिवारमा सुख-शान्ति, सुस्वास्थ्य र मनोकामना पूर्ण हुने विश्वास गरिन्छ।








प्रतिक्रिया