झापा । झापामा उपभोक्ता हितविपरीत कार्य गर्ने व्यवसायीहरूमाथि जिल्ला प्रशासन कार्यालयले कडा कारबाही सुरु गरेको छ । गत भदौ २० देखि असोज २८ गतेसम्म सञ्चालन गरिएको आकस्मिक बजार निरीक्षण तथा अनुगमनका क्रममा म्याद गुज्रिएका र अखाद्य सामग्री बिक्री–वितरण गर्ने तथा अस्वाभाविक मूल्य लिने ५ वटा व्यावसायिक फर्मलाई कुल ५ लाख १५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
उक्त अवधिमा प्रशासनको टोलीले जिल्लाका कुल १३४ वटा फर्म तथा व्यवसायमा आकस्मिक निरीक्षण गरेको थियो । अनुगमनका क्रममा अखाद्य सामग्री बेच्ने र बढी मूल्य लिने व्यवसायीलाई जरिवाना गर्नुका साथै एक व्यवसायीलाई भने सचेत गराइएको छ ।

कारबाहीमा पर्नेहरूमा म्याद गुज्रिएको गाईको दाना बिक्री गरिरहेको दास किराना पसललाई रु २ लाख र फेन्सिङ्ग वायर करिब दोब्बर मूल्यमा बिक्री गर्ने शिवम् ट्रेड एन्ड सप्लायर्सलाई रु २ लाख जरिवाना गरिएको छ । त्यसैगरी, अखाद्य अमिलो पदार्थ बिक्री गर्ने श्रीराम अमिलो भण्डारलाई रु ५० हजार, बिना इजाजत विदेशी प्याकेजिङ प्रयोग गरी आइसक्रिम बेच्ने कमल आइस उद्योगलाई रु ५० हजार र ओमशान्ति मिष्ठान्न भण्डारलाई रु १५ हजार जरिवाना गराइएको छ । दमक–१ स्थित मुना स्टोर्सलाई भने पहिलोपटकका लागि सचेत गराइएको छ ।
अनुगमनका क्रममा फेला परेका कुल रु २ लाख ४० हजार ४ सय ४३ बराबरका म्याद गुज्रिएका तथा अखाद्य सामग्री नियन्त्रणमा लिई नष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालयले उपभोक्ताको स्वास्थ्य र हित संरक्षणका लागि यस्ता आकस्मिक अनुगमनलाई निरन्तरता दिइने जनाउँदै उपभोक्तामैत्री बजार निर्माणका लागि सहयोग गर्न सम्पूर्ण सरोकारवालासँग अपिल गरेको छ ।








प्रतिक्रिया