Banner news

शिवसताक्षी नगर अस्पतालबाट स्वास्थ्य सेवा सुरु

शिवसताक्षी नगर अस्पतालबाट स्वास्थ्य सेवा सुरु


शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा नवनिर्मित नगर अस्पतालबाट सोमबारदेखि स्वास्थ्य सेवा सुरु गरिएको छ । शिवसताक्षी नगरपालिका–६ मा निर्माण सम्पन्न भएको आधुनिक तथा सुविधा सम्पन्न १५ शय्याको नगर अस्पतालबाट सेवा सञ्चालनमा आएसँगै स्थानीय नागरिकले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

यसअघि शिवगञ्ज स्वास्थ्य केन्द्रबाट प्रदान हुँदै आएको स्वास्थ्य सेवा सोमबारदेखि नवनिर्मित नगर अस्पतालबाट दिन थालिएको हो । नगर अस्पताल सञ्चालनमा आएसँगै नगरवासीलाई गुणस्तरीय, सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध गराउने नगरपालिकाको लक्ष्य रहेको छ ।

शिवसताक्षी नगरपालिकाका अनुसार करिब डेढ बिघा क्षेत्रफलमा फैलिएको जग्गामा निर्माण गरिएको नगर अस्पतालका लागि १० करोड ६७ लाख रुपैयाँ खर्च भएको छ । आधुनिक संरचना र स्वास्थ्य सेवाका लागि आवश्यक पूर्वाधारसहित निर्माण गरिएको अस्पताललाई नगरको स्वास्थ्य सेवाको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।

नगर अस्पतालबाट सेवा सुरु भए पनि पूर्ण क्षमतामा सञ्चालन गर्न केही समय लाग्ने नगरपालिकाले जनाएको छ । अस्पतालमा थप स्वास्थ्य उपकरण जडान गर्नुपर्ने, विभिन्न प्रकारका एक्सरे मेसिनलगायत आवश्यक प्रविधि थप्नुपर्ने भएकाले सेवा विस्तारलाई क्रमिक रूपमा अघि बढाइने नगरप्रमुख मेगाहाङ थोप्राले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्पतालमा थप विशेषज्ञ चिकित्सक, प्रयोगशालासम्बन्धी सेवा तथा आधुनिक स्वास्थ्य उपकरण थप गर्दै लगिनेछ । नगरवासीलाई सामान्य उपचारका लागि समेत टाढाका अस्पताल धाउनुपर्ने अवस्थालाई न्यूनीकरण गर्दै नगरभित्रै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य रहेको उहाँले बताउनुभयो ।

नगरप्रमुख थोप्राले अस्पतालबाट उपलब्ध हुने सेवाहरूलाई क्रमशः विस्तार गर्दै नागरिकले सहज, सुलभ र प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण निर्माण गरिने बताउनुभयो । आवश्यक जनशक्ति, उपकरण र प्राविधिक सुविधा थप गर्दै अस्पताललाई व्यवस्थित गरी पूर्ण रूपमा सञ्चालन गर्ने नगरपालिकाको योजना रहेको उहाँको भनाइ छ ।

हाल अस्पतालमा २ जना जेनेरल फिजिसियन डाक्टरहरुले सेवा दिइरहनु भएको छ । ल्याव सेवा, प्रसुति सेवा समेत सञ्चालनमा रहेको छ । एमेरजेन्सी सेवाका लागि पूर्वाधार तयार भइसकेको केही सामाग्री आउन बाँकी रहेको र छिटै सेवा सञ्चालनमा आउने अस्पालतका डाक्टर पंकजकुमार रामले जानकारी दिनुभयो ।

नगर अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा आएपछि शिवसताक्षी नगरपालिका तथा आसपासका क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचारमा थप सहजता हुने अपेक्षा गरिएको छ । स्थानीयस्तरमै स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न नगर अस्पतालले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

शेयर गर्नुहोस :

0
Shares