Banner news

हाम्रो नेपाल साकोस र मेची नेत्रालयबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

हाम्रो नेपाल साकोस र मेची नेत्रालयबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता


वेद प्रकाश दवाडी

 बिर्तामोड – झापाको बिर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र मेचीनगरस्थित मेची नेत्रालय एण्ड अप्थाल्मिक रिसर्च सेन्टर प्रा.लि.बीच सहकारीका शेयर सदस्यलाई आँखा उपचारमा विशेष सहुलियत प्रदान गर्ने सम्झौता भएको छ।

बिहीबार रिसर्च सेन्टरमा आयोजित एक कार्यक्रमका बीच दुवै संस्थाले सोसम्बन्धी समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका हुन्। सम्झौतापत्रमा मेची नेत्रालयका तर्फबाट मेडिकल डाइरेक्टर डा. शरदचन्द्र राई र हाम्रो नेपाल साकोसका तर्फबाट कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद गौतमले हस्ताक्षर गर्नुभएको हो ।

यस सम्झौतासँगै अब हाम्रो नेपाल साकोसका शेयर सदस्यले मेची नेत्रालयमा आँखा जाँच (ओपिडी दर्ता) गराउँदा ५५ रुपैयाँ मात्र शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ। यसैगरी, आवश्यक परीक्षण (इन्भेस्टिगेसन), आँखाको शल्यक्रिया (आई सर्जरी) र विभिन्न थेरापी तथा प्रोसिड्युर (पीआरपी, वाईएलसी, वाईएजी पीआई) मा १५ प्रतिशत छुट प्रदान गरिनेछ। चस्मा खरिदमा भने २० प्रतिशत छुटको व्यवस्था मिलाइएको छ।

सामाजिक सुरक्षा कोष (एसएसएफ) मा आबद्ध कर्मचारीका हकमा कोषअन्तर्गतका सेवाको सहभुक्तानी (को–पे) रकममा २० प्रतिशत र कोषले नसमेट्ने आँखा स्वास्थ्यसम्बन्धी अन्य सेवामा समेत २० प्रतिशत छुट दिइने सम्झौतापत्रमा उल्लेख छ।

सम्झौतापछि बोल्दै साकोसका कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद गौतमले सदस्यहरूको आर्थिक हितसँगै स्वास्थ्य सेवामा समेत पहुँच बढाउन यो सम्झौता गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “यसबाट हाम्रा हजारौँ शेयर सदस्य र उहाँहरूका परिवारले प्रत्यक्ष रूपमा फाइदा लिन सक्नुहुनेछ।”

यसैगरी, संस्थाका सञ्चालक समिति सदस्य कृष्णप्रसाद पोखरेलले सहकारी सदस्यहरूको सामाजिक तथा स्वास्थ्य आवश्यकताप्रति पनि उत्तरदायी हुनुपर्छ भन्ने मान्यताअनुरूप स्वास्थ्य संस्थासँग सहकार्य अघि बढाइएको स्पष्ट पार्नुभयो।
झापाको मेचीनगर-६, काँकरभिट्टामा अवस्थित मेची नेत्रालय एण्ड अप्थाल्मिक रिसर्च सेन्टर प्रा.लि. पूर्वी क्षेत्रमा सञ्चालित अग्रणी आँखा उपचार केन्द्र हो। यस केन्द्रले विभिन्न विशेषज्ञ चिकित्सक तथा प्राविधिक टोलीमार्फत आँखाको सामान्य परीक्षण (ओपिडी), जटिल प्रकृतिका शल्यक्रिया (आई सर्जरी) र चस्मा वितरण जस्ता सेवाहरू उपलब्ध गराउँदै आएको छ। अत्याधुनिक प्रविधिको प्रयोग गरी सेवा प्रवाह गर्दै आएको यस नेत्रालयमा झापा, आसपासका जिल्ला तथा सीमावर्ती भारतीय क्षेत्रका बिरामीहरू आँखा उपचारका लागि आउने गर्दछन्।

व्यावसायिक सेवाका अतिरिक्त यस नेत्रालयले विभिन्न स्थानीय सहकारी, समुदाय र सामाजिक संघ-संस्थाहरूसँग सम्झौता तथा सहकार्य गरी सहुलियत दरमा आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालकी प्रशासक पुनम प्रधानले बताउनुभयो।

हस्ताक्षर भएको मितिले दुई वर्षसम्म लागू हुने यस सम्झौताअन्तर्गतको सहुलियत प्राप्त गर्नका लागि साकोसका सदस्यले संस्थाबाट जारी गरिएको आधिकारिक र वैध परिचयपत्र अस्पतालमा प्रस्तुत गर्नुपर्नेछ।

ओम साई पाथिभरा हस्पिटलमा पनि सहुलियत
यसअघि हाम्रो नेपाल साकोसले भद्रपुरस्थित ओम साई पाथिभरा हस्पिटलसँग पनि स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता गरिसकेको छ। उक्त सम्झौताअनुसार साकोसका सदस्य र उनीहरूका एकाघर परिवारले हस्पिटलमा शल्यक्रिया शुल्क, ल्याब परीक्षण, सिटी स्क्यान, एमआरआई, एक्सरे, बेड भर्ना, इन्डोस्कोपी र आँखा परीक्षणमा १५ प्रतिशत छुट प्राप्त गरिरहेका छन्। साथै, चस्मा खरिद र फिजियोथेरापी सेवा शुल्कमा १० प्रतिशत छुटको व्यवस्था छ। उक्त सुविधा लिन पनि सदस्य र एकाघरका सदस्यले आफ्नो सदस्य परिचयपत्र अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था छ।

झापा, इलाम र मोरङ जिल्लाभित्र ३१ वटा सेवाकेन्द्रमार्फत वित्तीय सेवा प्रवाह गरिरहेको हाम्रो नेपाल साकोसमा हाल करिब ४४ हजार शेयर सदस्य आबद्ध छन् । दुई अर्ब ५० करोडभन्दा बढी कुल सम्पत्ति रहेको यस संस्थाले आफूलाई बचत र ऋणको कारोबारमा मात्र सीमित नराखी सदस्यहरूको स्वास्थ्य, शिक्षा र सामाजिक उत्थानका क्षेत्रमा समेत निरन्तर सक्रिय रहँदै आएको छ । संस्थाका यस्ता सामाजिक कामले सहकारी अभियानप्रतिको जनविश्वासलाई थप बलियो बनाउने सरोकारवालाहरूले बताएका छन ।

शेयर गर्नुहोस :

432
Shares