Banner news

बिर्तामोडमा मासु बजारको अनुगमन, अबदेखि जरिवाना गर्ने चेतावनी

बिर्तामोडमा मासु बजारको अनुगमन, अबदेखि जरिवाना गर्ने चेतावनी


बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले चाडपर्व नजिकिएसँगै बजारमा माछा मासुको खपत बढ्ने समयलाई ध्यानमा राख्दै अनुगमनलाई तीव्रता दिएको छ ।

चाडपर्वका बेला गुणस्तरहीन तथा अस्वस्थकर मासु बिक्री हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा संयुक्त टोलीले आज बजार निरीक्षण गरेको हो । अनुगमनका क्रममा कैफियत भेटिएका पसलहरूबाट ८४ केजी अखाद्य खसी तथा कुखुराको मासु र २६ केजी सडेको माछा बरामद गरी नष्ट गर्नुका साथै चारवटा पसललाई सचेत गराई कारबाहीसमेत गरिएको छ । अब उप्रान्त मापदण्ड बमोजिम काम नगरे जरिवाना गरिने उपप्रमुख संग्रौलाले चेतावनी दिएका छन् ।

भेटेरिनरी अस्पताल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन र प्रहरीका प्रतिनिधि सहभागी रहेको उक्त अनुगमन टोलीले माछा मासुको ताजापन, स्वच्छता र बिक्रीको अवस्थाबारे जानकारी लिएको थियो । नियमित अनुगमनले बजारमा सुधार ल्याएको बताउँदै उपप्रमुख संग्रौलाले उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि यस्ता कार्यलाई निरन्तरता दिइने स्पष्ट पार्नुभयो । साथै, उहाँले चाडपर्वमा व्यवसायीहरूलाई जिम्मेवार बनेर स्वस्थ र गुणस्तरीय वस्तु मात्र बिक्री वितरण गर्न तथा उपभोक्ताहरूलाई पनि खरिद गर्दा सजग रहन आग्रह गर्नुभएको छ ।

शेयर गर्नुहोस :

0
Shares