Banner news

बिर्तामोडमा बैंक खाता भाडामा लिएर ठगी, १३ लाख रुपैयाँ फिर्ता

बिर्तामोडमा बैंक खाता भाडामा लिएर ठगी, १३ लाख रुपैयाँ फिर्ता


आई.ई.एम.आई. कोडका आधारमा भेटियो मोवाइल

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले बिहीबार अनलाईन माध्यमबाट ठगिएका सर्वसाधारणको रकम फिर्ता गराएको छ । बिर्तामोडका डिएसपी सन्तोष पाठकले १७ जनाको १३ लाख ११ हजार ६ सय रुपैयाँ फिर्ता गराएका हुन् । उनले सो रकमसँगै फेला परेका १६ थान मोवाइल समेत मोवाइल धनीलाई बुझाएका छन् ।

विभिन्न उपहार परेको र कर तिर्न आवश्यक रकम पठाउन भन्दै पैसा पठाएर ठगिएकाहरुको निवेदनका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा रकम जम्मा भएका खाताका धनीहरुलाई प्रहरीले सम्पर्कमा ल्याएर सोधपुछ गरेपछि उनीहरु पैसा फिर्ता गर्न तयार भएका थिए । प्रहरीका अनुसार खाता धनीहरुले स्वयम ठगी नगरेको अनुसन्धाबाट खुलेको छ ।

सर्वसाधारण नागरिकको नाममा रहेको बैंक खाताहरु भाडामा प्रयोग गरेर अनलाईन ठगीमा संलग्नहरुले उक्त रकम ठगी गरेको खुलेको छ । प्रहरीले ठगीका लागि प्रयोग भएका खातावालहरुमार्फत पैसा फिर्ता गरेको हो । खाता प्रयोग गरे वापत ५ देखि ७ हजारसम्म भाडा बुझाउने गरेको बुझिएको छ । सामान पठाइदिने, सस्तो सामानको लोभमा पैसा मागेर ठगी गरेको खुलेको छ । एक जनाबाट १ लाखसम्म ठगी गरेको पाइएको छ ।

यस्तै, प्रहरीले चोरी भएका र हराएका मोवाइलहरु फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । रेडमी ५ थान, सामसुम, भिभो ३, रियलमी, टेक्नो २ र वनप्लस १ थान मोवाइल प्रहरीले धनीलाई बुझाएको हो । प्रहरीका अनुसार चोरी भएका मोवाइल इलाम, पाँचथरमा प्रयोग भएको पाइएको छ । मोवाइलको आई.ई.एम.आई. कोडका आधारमा प्रहरीले मोवाइलको खोजी गरेको डिएसपी पाठकको भनाई छ ।

कतिपय मोवाइल बिक्री भएको अवस्थामा फेला परेको थियो भने कतिपय चोरी गर्ने व्यक्ति स्वयमले प्रयोग गरेका थिए । सो कोडका आधारमा प्रहरीले अनुसन्धान गर्दा पछि प्रयोग गरिएका सिमहरुमा सम्पर्क गरेर मोवाइल फिर्ता गरिएको थियो ।

शेयर गर्नुहोस :

0
Shares