बिर्तामोड

गैरमेनपावर संस्थाका कारण वैदेशिक रोजगारीको क्षेत्र असुरक्षित बन्यो – अध्यक्ष पन्धाक

गैरमेनपावर संस्थाका कारण वैदेशिक रोजगारीको क्षेत्र असुरक्षित बन्यो – अध्यक्ष पन्धाक


बिर्तामोड । वैदेशिक रोजगार व्यवसायी संघ झापाको दोस्रो वार्षिक साधारण सभा बिर्तामोडमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष धनबहादुर पन्धाकको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा बिहीबार साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पन्धाकले गैर–मेनपावर संस्थाहरूका कारण वैदेशिक रोजगारी असुरक्षित बन्दै गएको बताउनुभयो । ब्युटी पार्लर, कन्सल्टेन्सी र तालिम केन्द्रहरूले कानुनी प्रक्रिया नपु¥याई वा गैर–संस्थागत माध्यमबाट मानिसहरूलाई विदेश पठाउँदा समस्या उत्पन्न हुने र त्यसको प्रत्यक्ष मार आधिकारिक म्यानपावर व्यवसायीहरूमाथि पर्ने उहाँको भनाइ थियो । यसरी गैर–संस्थागत रूपमा जाँदा श्रमिकको वास्तविक विवरण, गन्तव्य, सम्झौता र सुरक्षा सम्बन्धी जानकारी पाउन कठिन हुनुका साथै समस्या पर्दा उद्धार, कानुनी सहायता र क्षतिपूर्ति पाउन समेत गाह्रो हुने उहाँले उल्लेख गर्नुभयो । प्रतिवेदनमा संघको उद्देश्य, अवसर, चुनौती, भावी योजना र सामाजिक कार्यहरूबारे पनि जानकारी गराइएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख संग्रौला, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डीएसपी सन्तोष पाठक, बिर्तामोड–१ का वडा सदस्य योगचन्द्र आङबुहाङ र नेपाल पत्रकार महासंघ झापाका सचिव प्रदीप परियारले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । मन्तव्यका क्रममा उहाँहरूले म्यानपावर कम्पनीहरूले वैदेशिक रोजगार मात्र नभई स्वदेशमै पनि युवाहरूलाई रोजगारी दिइरहेको बताउनुभयो ।

संघका प्रथम उपाध्यक्ष राजन सिलवालले स्वागत गर्नुभएको सो कार्यक्रमको सञ्चालन महासचिव नीरकुमार खत्री (निरन) ले गर्नुभएको थियो । व्यवसायीहरूबीच एकता कायम गर्दै हकहितको संरक्षण गर्ने र व्यवसायलाई सुरक्षित, मर्यादित, व्यवस्थित एवं उत्तरदायी बनाउने उद्देश्यले संघको स्थापना भएको द्वितीय उपाध्यक्ष प्रकाश राईले जानकारी दिनुभयो । कार्यक्रममा श्रम तथा रोजगार कार्यालय भद्रपुरका प्रमुख तिलक श्रेष्ठ, विभिन्न मेडिकलका सञ्चालक तथा प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।

झापाका १२७ वटा म्यानपावर कम्पनीहरू सदस्य रहेको यस संघले व्यावसायिक गतिविधिबाहेक रक्तदान, बाढीपीडितलाई सहयोग तथा जेनजी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनी जस्ता घटनामा सहयोग पु¥याउने जस्ता सामाजिक र परोपकारी कार्यहरू समेत गर्दै आएको छ ।

शेयर गर्नुहोस :

0
Shares