मुख्य समाचार

चीन र उत्तर कोरिया जोड्ने नयाँ पुल १२ वर्षपछि सञ्चालनमा

चीन र उत्तर कोरिया जोड्ने नयाँ पुल १२ वर्षपछि सञ्चालनमा


चीन र उत्तर कोरियाबीच व्यापार तथा आवागमन सहज बनाउने उद्देश्यले बनाइएको नयाँ सडक पुल सञ्चालनमा आएको छ । दुई देशबीचको सम्बन्धमा सुधार आउँदै गर्दा यालु नदीमाथि निर्माण गरिएको तीन किलोमिटर लामो पुल सञ्चालनमा आएको बीबीसीले जनाएको छ ।

चीनको सीमावर्ती सहर डान्दोङदेखि उत्तर कोरियाको सिनुइजुसम्म जोड्ने यो पुल दुई देशबीचको व्यापारिक आवागमनको प्रमुख मार्ग बन्ने अपेक्षा छ । सन् २०१४ मै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको पुल उत्तर कोरियाले सडक तथा भन्सार पूर्वाधार निर्माण रोकेपछि लामो समयदेखि अलपत्र थियो ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङले भिडियो सन्देशमार्फत पुललाई चीन र उत्तर कोरियाबीचको परम्परागत मित्रताको नयाँ प्रतीकका रूपमा व्याख्या गर्नुभएको छ । उहाँले पुल सञ्चालनसँगै दुई देशबीचको सम्बन्धले नयाँ अध्याय शुरु गर्ने बताउनुभएको छ ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले नयाँ पुलले दुई देशबीचको सम्पर्क विस्तार गर्नुका साथै व्यापार र जनस्तरको आदानप्रदानलाई सहज बनाउने बताउनुभएको छ । चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो ।

गएको वर्ष दुई देशबीचको व्यापार २ अर्ब ७० करोड अमेरिकी डलर पुगेको थियो । यो व्यापार कोरोना महामारी अघिको स्तरमा फर्किएको हो । यद्यपि, संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियामाथि लगाएका प्रतिबन्ध कायमै रहेकाले पुल सञ्चालनमा आएपनि व्यापारमा एकाएक ठूलो वृद्धि हुने सम्भावना कम रहेको विज्ञहरूको अनुमान छ ।

चीनबाट हुने आयात अत्यधिक बढ्दा आफ्नो आन्तरिक बजारमा चिनियाँ प्रभाव विस्तार हुन सक्ने चिन्ता उत्तर कोरियालाई रहेको विज्ञहरुको विश्लेषण छ ।

शेयर गर्नुहोस :

108
Shares