शनिश्चरे । अर्जुनधारा नगरपालिका – ३ स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
समूहद्वारा बिहीबार कार्यालय परिसरमा आयोजित साधारणसभाले आ .व. ०८२-०८३ वार्षिक प्रतिवेदन ,०८२-०८३ को आ.ले . प . तथा म.ले .प. प्रतिवेदन पारित आ. व. .०८३ -०८४ को लागि वार्षिक नीति तथा कार्यक्रम बजेट प्रस्तुत गर्दै कार्यक्रम सम्पन्न भएको हो । साधारणसभामा संस्थाका अध्यक्ष मोहन श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार वि .स . ०८० साल चैत ५ गते भएको कार्यसमितिको निर्वाचनबाट निर्वाचित कार्यसमितिले जिम्मेवारी तथा इमानदारीपूर्वक निरन्तर रुपमा यस समूह ,समुदाय वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणको लागि कार्य गर्दै आएको जानकारी गराइएको छ ।

यस सामुदायिक वनको स्थापना ०५२ साल मंसिर २० गते भई माघ ३ गते तत्कालीन जिल्ला वन कार्यालय झापाबाट विधिवत रुपमा स्वीकृत भई हाल अर्जुनधारा नगरपालिका ३ , ४ र ७ का २०३७ घरधुरीका उपभोक्ताहरुबाट संरक्षण ,सम्वद्र्धन र सदुपयोग गर्दै आएको छ । यस सामुदायिक वन उपभोक्ता समूह ७४७ . ७० हेक्टर क्षेत्रफलमा फैलिएको उष्णप्रदेशीय सदाबहार जङ्गल को रुपमा रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले गरीबी न्यूनीकरण तथा मानव वन्यजन्तु सहअस्तित्वको लागि अर्जुनधारा नगरपालिकासंगको लागत साझेदारीमा उपभोक्ता क्षेत्र भित्रका १० कृषि समूहहरुलाई प्रत्येक बराबर ७ घार सेरेना प्रजातिका घारमौरी वितरण गरिसकेको छ ।
गत आव समुहले विपन्न ३१ घर परिवारलाई चुल्हो सहित एल पि (खाना पकाउने ) ग्यास ,४५ परिवारको स्वास्थ्य बिमा १० परिवारलाई सुत्ने खाट, ५ घरधुरीको सुधार कार्यक्रम जस्ता विभिन्न कार्यक्रमहरु सम्पन्न गरिसकेको उल्लेख छ । त्यस्तै, समूहका कोषाध्यक्ष मनिला इङनाम जबेगुले आ .व . ०८२ – ०८३ को आम्दानी र खर्च विवरण तथा आ . व . ०८३-०८४ को नीति तथा कार्यक्रम बजेट प्रस्तुत गरेकी थिइन् भने लेखा सदस्य अर्जुन निरौलाले आन्तरिक लेखापरीक्षण प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्ने क्रममा कार्ययोजना पुनरावलोकन समितिका संयोजक जीवन भण्डारीले चिरान काठ र दाउराको दर–रेट विवरण प्रस्तुत गरेका थिए । संस्थाका सहसचिव सोमनाथ चापागाईंले काठ र दाउरा सम्बन्धि अनुगमन प्रतिवेदन प्रस्तुत गरेका थिए ।
अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन तामाङको प्रमुख आतिथ्यतामा चन्द्र प्रसाद अधिकारी ,मदनकुमार दनुवार ,पूर्व अवकाश कर्मचारी पदम बहादुर तामाङ , डिल्लीराम अधिकारी र रमेश राई, उत्कृष्ट मौरी पालक मोतिखोर भण्डारी र उत्कृष्ट संयोजक नरेन्द्र बहादुर दाहाललाई सम्मान –पत्रसहित सम्मान गरिएको थियोे । त्यसैगरीउत्कृष्ट विद्यार्थीहरु अम्बिका गुरुङ ,सुदर्शन कार्की , फुटबल खेलाडी राजेश दाहाल ,तेक्वान्दो खेलाडी हरु स्मारिका लगुन र प्रिन्जल लिम्बूलाई नगदसहित सम्मान गरिएको थियोे । सोही अवसरमा ३१ वटा टोल क्षेत्रका प्रत्येक टोलबाट अति विपन्न प्रति घर जनही २-२ थान चुल्होसहित सिलिन्डर ग्यास वितरण गरिएको संस्थाका लेखापाल हरिप्रसाद खतिवडाले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठको सभापतित्व र सचिव उर्मिला कटुवाल अधिकारीले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि गोम्देनले यस सामुदायिक वन उपभोक्ता समूहले धेरै राम्रा – राम्रा कामहरु गरेको उदाहरण दिदै प्रशंसा गरे । नगरपालिकाले वातावरण मैत्री बनाउन नगरक्षेत्रका सबै सामुदायिक वन उपभोक्ता समूहसंग साझेदारी गरेको बताए । लोभ हुदै गएको वन्यजन्तु , चराचुरुङ्गीहरु संरक्षण गर्न सके नगर पर्यटकीय क्षेत्र बन्ने उनको भनाइ थियो ।
वन्यजन्तु , चराचुरुङ्गीहरुको बासस्थानको समस्या रहेकोले जङ्गल संरक्षण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा कन्काई सब वन डिभिजन कार्यालयका स्वस्तिका सुवेदी लगायतले शुभकामना मन्तव्य राखेका थिए । स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष लक्ष्मीराम शर्मा तिम्सिनाले राखेका थिए ।








प्रतिक्रिया