मुख्य समाचार

अब अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख प्रोत्साहन

अब अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख प्रोत्साहन


मुगु। छायाँनाथ रारा नगरपालिकाले जातीय विभेद अन्त्य गर्दै सामाजिक समानता र सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई १-१ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।

छायाँनाथ रारा नगरपालिका दलित ऐन, २०८० अनुसार नगरपालिकाले बिहीबार औपचारिक कार्यक्रम आयोजना गरी दुवै जोडीलाई एक–एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो।

अन्तरजातीय विवाह गरी प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ प्राप्त गर्नेमा छायाँनाथ रारा नगरपालिका–१० झाकोट गाउँका विक्रमबहादुर नेपाली र पवित्रा चौलागाईं तथा वडा नं. १३ थार्प गाउँका मानसिंह नेपाली र सरिता सेजुवाल रहेका नगरप्रमुख विष्णुकुमार भामले जानकारी दिए।

नगरप्रमुख भामले जातीय विभेद र छुवाछूत अन्त्य गरी सबै नागरिकले समान अधिकार र सम्मानका साथ बाँच्न पाउने वातावरण निर्माण गर्नुपर्ने बताए। उनका अनुसार अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने तथा सामाजिक समानता कायम गर्ने उद्देश्यले नगरपालिकाले आर्थिक सहयोगको व्यवस्था गरी कार्यान्वयनमा ल्याएको हो।

उपप्रमुख ऐश्वर्य मल्लले समाजमा विद्यमान जातीय विभेद हटाउन सबैको सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताइन्। अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन गर्नुका साथै समतामूलक र विभेदमुक्त समाज निर्माणमा यस्ता कार्यक्रमले सहयोग पुग्ने उनको विश्वास छ।

नगरपालिकाको यस पहलले अन्तरजातीय विवाह गर्ने जोडीलाई आर्थिक प्रोत्साहन मिल्नुका साथै सामाजिक सद्भाव अभिवृद्धि र जातीय विभेद न्यूनीकरणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ। दलित ऐन निर्माणसँगै छायाँनाथ रारा नगरपालिकाले हालसम्म चार जोडीलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ।

शेयर गर्नुहोस :

0
Shares