मुख्य समाचार

कांग्रेसको केन्द्रीय कार्यसमितिमा ३५ वर्षमुनिका २१ युवा

कांग्रेसको केन्द्रीय कार्यसमितिमा ३५ वर्षमुनिका २१ युवा


काठमाडौं – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट ३५ वर्षमुनिका २१ जना युवा केन्द्रीय कार्यसमितिमा निर्वाचित भएका छन् । असोज १८ देखि २३ गतेसम्म सम्पन्न महाधिवेशनमा युवा क्लस्टरअन्तर्गत खुला र प्रदेशगत महिला तथा खुला समूहबाट उनीहरू केन्द्रीय नेतृत्वमा पुगेका हुन् ।

कांग्रेसले केन्द्रीय कार्यसमितिमा ३५ वर्षमुनिका युवाका लागि २१ सदस्य पदको व्यवस्था गरेको छ । यसअन्तर्गत सात जना युवा खुला समूहबाट र सातै प्रदेशबाट एक महिला तथा एक खुला गरी १४ जना निर्वाचित भएका हुन् ।

युवा खुलातर्फका सात पदमा सचिन तिमल्सेना, इन्जिनियर अभिषेक आत्रेय, सुशील भट्ट, डा. आयुस बगाले, आदर्श मल्ल, इन्जिनियर रोशन बस्नेत र इन्जिनियर शैलेश मिश्र निर्वाचित भए । सात पदका लागि २७ जनाबिच प्रतिस्पर्धा भएको थियो ।

प्रदेशगत युवा क्लस्टरमा कोसीबाट इन्जिनियर हेमकाजी बस्नेत र डा. योशिका भट्टराई निर्वाचित भए । मधेसबाट गौरव पाण्डे र ममता शर्मा, बागमतीबाट अंशुल केसी र रजनी थापा केन्द्रीय सदस्य बने ।

त्यस्तै, गण्डकीबाट इन्जिनियर सुवास पौडेल र डा. कला पन्त, लुम्बिनीबाट अनुराग खड्का र सुष्मा पाण्डे निर्वाचित भए । कर्णालीबाट मोहन राना र भगवती शाही तथा सुदूरपश्चिमबाट इन्जिनियर भुवनराज भट्ट र रिता शाही केन्द्रीय कार्यसमितिमा पुगे ।

प्रदेशगत प्रतिस्पर्धामा खुला र महिला समूहका उम्मेदवारबिच छुट्टाछुट्टै प्रतिस्पर्धा भएको थियो । यस व्यवस्थाले पार्टीको केन्द्रीय नेतृत्वमा युवाको प्रतिनिधित्व सुनिश्चित गरेको छ ।

युवा नेतृत्वको प्रवेशले कांग्रेसमा पुस्तान्तरणको बहस

युवा क्लस्टरबाट मात्रै नभई खुला तथा अन्य समावेशी समूहमा प्रतिस्पर्धा गरेर पनि युवा नेताहरू केन्द्रीय कार्यसमितिमा पुगेका छन्। यसले कांग्रेसको नेतृत्वमा नयाँ पुस्ताको उपस्थिति थप फराकिलो भएको देखाउँछ ।

महाधिवेशनबाट ४० वर्षमुनिका युवाको उपस्थिति पनि उल्लेख्य देखिएको छ । निर्वाचन हुने १९ पदाधिकारीमध्ये फिरदोस आलम मुस्लिमतर्फको सहमहामन्त्रीमा निर्वाचित भएका छन् । अर्कोतर्फ, ७० वर्षीय विनोद चौधरी पदाधिकारीमध्ये सबैभन्दा ज्येष्ठ रहेको विवरणमा उल्लेख छ ।

कांग्रेसको केन्द्रीय नेतृत्वमा युवा प्रतिनिधित्व बढ्नुले पार्टीभित्र पुस्तान्तरण, नेतृत्व विकास र नीतिगत बहसका लागि नयाँ अवसर सिर्जना गरेको छ ।

शेयर गर्नुहोस :

108
Shares