Banner news

झापाका छ वटा विद्यालयमा ६ करोडका दरले अत्याधुनिक भवन बन्ने

झापाका छ वटा विद्यालयमा ६ करोडका दरले अत्याधुनिक भवन बन्ने


झापा । सरकारले देशभरका सामुदायिक विद्यालयको भौतिक पूर्वाधारमा व्यापक सुधार ल्याउने उद्देश्यका साथ झापाका छ वटा ठूला माध्यमिक विद्यालयमा ठूलो लगानी गर्ने भएको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत ठूला विद्यालयहरूलाई प्राथमिकतामा राखेर सञ्चालन गरेको पूर्वाधार विस्तार योजनाअन्तर्गत पहिलो चरणमा झापाका छ वटा विद्यालय छनोटमा परेका हुन् । यस योजनाअन्तर्गत प्रत्येक विद्यालयमा करिब छ करोड रुपैयाँको लागतमा अत्याधुनिक पूर्वाधार निर्माण गरिने भएको छ ।

मन्त्रालयले स्वीकृत गरेको योजनाअनुसार झापाको मेचीनगर पालिकास्थित धुलाबारी माध्यमिक विद्यालय, दमक नगरपालिकाको हिमालय माध्यमिक विद्यालय र कन्काई नगरपालिकामा रहेको कन्काई माध्यमिक विद्यालय, विर्तामोड नगरपालिकाको देवी माध्यमिक विद्यालय, महेन्द्र रत्न माध्यमिक विद्यालय र मोहनमाया माध्यमिक विद्यालय रेहका छन् ।
विर्तामोड नगरपालिकाका मात्रै तीन वटा प्रमुख सामुदायिक विद्यालयले पूर्वाधार विकासको यो अवसर पाएका छन् ।

छनोटमा परेका यी विद्यालयहरूमा निकासा भएको बजेटबाट १२ कोठे तीन तले आधुनिक भवन निर्माण गरिनेछ । सो भवनमा अत्याधुनिक कक्षाकोठाहरूसँगै आधुनिक प्रयोगशाला र व्यवस्थित एवं समृद्ध पुस्तकालयको समेत निर्माण गरिने मन्त्रालयले जनाएको छ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार यी अत्याधुनिक भवन तथा शैक्षिक संरचनाहरूले झापाका हजारौँ विद्यार्थीहरूका लागि सिकाइ वातावरणलाई थप सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउनेछ ।

सरकारले ल्याएको छ अर्ब ५४ करोड रुपैयाँको पूर्वाधार विस्तार योजनामध्ये पहिलो चरणमा देशभरका ८९ वटा विद्यालयका लागि पाँच अर्ब ३४ करोड रुपैयाँ निकासा गरिसकेको छ । कोशी प्रदेशबाट कुल १८ वटा विद्यालय परेकोमा झापा र मोरङका छ–छ वटा विद्यालय सूचीकृत भएर प्रदेशमै अग्रणी स्थान ओगट्न सफल भएका छन् । विद्यार्थीको उच्च चाप रहेका झापाका यी ठूला विद्यालयहरूमा पूर्वाधारको अभाव हटाएर पठनपाठनको गुणस्तरमा गुणात्मक सुधार ल्याउने सरकारको योजना छ ।

शेयर गर्नुहोस :

0
Shares