बिर्तामोड । चाडपर्वका समयमा बजार तथा वित्तीय क्षेत्रहरूमा सर्वसाधारणको आवतजावत र आर्थिक कारोबार बढ्ने हुँदा जिल्ला प्रशासन कार्यालय झापाले बैंक, वित्तीय संस्था, व्यापारिक प्रतिष्ठान, सपिङ मल तथा व्यावसायिक कम्प्लेक्सहरूलाई उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलद्वारा जारी सार्वजनिक सूचनामा सम्भावित सुरक्षा चुनौतीहरूलाई ध्यानमा राख्दै शान्ति सुरक्षा सुदृढ बनाउन र सेवा प्रवाहलाई सहज तथा सुरक्षित राख्न विभिन्न ६ बुँदे व्यवस्था मिलाउन भनिएको छ ।
निर्देशन अनुसार सुरक्षा गार्डहरूलाई उच्च सतर्कतामा राखेर २४ सै घण्टा नियमित पालोपहरा तथा अनुगमनको प्रभावकारी व्यवस्था मिलाउनुपर्नेछ । कार्यालय परिसर, भल्ट रुम, एटीएम बुथ, मुख्य प्रवेशद्वार, पार्किङ र भीडभाड हुने स्थानका सीसी क्यामेराहरूलाई चौबीसै घण्टा चालु तथा रेकर्डिङ हुने गरी दुरुस्त अवस्थामा राख्न र प्राविधिक समस्या देखिएमा तत्काल मर्मत गर्न भनिएको छ ।
यस्तै, बिदाको अवधिमा नगद कारोबारमा समस्या नहोस् भन्नका लागि एटीएम बुथहरूमा पर्याप्त नगद मौज्दात राखेर २४ सै घण्टा सुचारु राख्न निर्देशन दिइएको छ । शंकास्पद व्यक्ति वा गतिविधि देखिएमा वा आकस्मिक सहयोग चाहिएमा नजिकको प्रहरी कार्यालय वा सुरक्षा निकायसँग निरन्तर समन्वयमा रहन तथा प्राविधिक समस्या वा सुरक्षा समन्वयका लागि एक जिम्मेवार सम्पर्क व्यक्ति तोकी प्रहरीलाई नाम र नम्बर उपलब्ध गराउन आग्रह गरिएको छ । ठूला सपिङ मल र कम्प्लेक्सहरूलाई भीडभाड व्यवस्थापन, प्रवेशद्वारमा सुरक्षा जाँच र आकस्मिक सुरक्षा सतर्कता अपनाउन प्रशासनले स्पष्ट पारेको छ ।








प्रतिक्रिया