बिर्तामोड

झापामा पशुबली र सार्वजनिक स्थलमा वध रोक्न प्रशासनको ध्यानाकर्षण

झापामा पशुबली र सार्वजनिक स्थलमा वध रोक्न प्रशासनको ध्यानाकर्षण


बिर्तामोड । श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल जिल्ला कार्य समिति झापाले चाडपर्वका समयमा धार्मिक स्थल तथा सार्वजनिक क्षेत्रमा हुने पशुबलि तथा अव्यवस्थित पशु वधलाई रोक्न माग गर्दै शुक्रवार जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाएको छ ।

संस्थाले धर्मको मूल मर्म करुणा, दया, अहिंसा र प्राणीप्रतिको सद्भाव भएको उल्लेख गर्दै देवीलाई प्रसन्न पार्ने नाममा पशुपन्छीमाथि हुने क्रूर व्यवहार, सार्वजनिक स्थलमा हुने बध कार्य र त्यसले जनस्वास्थ्य तथा वातावरणीय स्वच्छतामा पार्ने नकारात्मक प्रभावप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।

सर्वोच्च अदालतको फैसला तथा मुलुकी अपराध संहिता २०७४ ले सार्वजनिक स्थलमा पशु मार्न र निर्दयी व्यवहार गर्न निषेध गरेको विषयलाई स्मरण गराउँदै परिषद्ले चाडपर्वका बेला स्थानीय तह र सुरक्षा निकायको संयुक्त अनुगमन टोली परिचालन गर्न माग गरेको छ ।

साथै, सार्वजनिक चोक तथा खुला स्थानमा हुने अव्यवस्थित वध नियन्त्रण गर्न, पशु स्वास्थ्यका मापदण्ड कडाइका साथ लागू गर्न, बालबालिकामा हिंसाको प्रभाव पर्न नदिन, पशुजन्य अवशेषको सुरक्षित व्यवस्थापन गर्न र अहिंसात्मक धार्मिक विकल्प तथा जनचेतनामूलक कार्यक्रमहरूलाई प्रोत्साहन गर्न जोड दिइएको अध्यक्ष समर्पण खतिवडाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

शेयर गर्नुहोस :

0
Shares