बिर्तामोड । गिरीबन्धु टि–स्टेटभित्र बसोबास गर्ने चिया मजदुरहरुका लागि स्वच्छ खानेपानीको व्यवस्था गर्न कोशी प्रदेश सरकारले ३० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । कोशी प्रदेशका खानेपानी सिचाई तथा उर्जा मन्त्री चिन्तन पाठकले चिया श्रमिक बसोबास गर्ने क्षेत्रलाई लक्षित गरेर उक्त बजेटको व्यवस्था गरिएको जानकारी दिए ।

आज बिहान नेपाल चिया कफी श्रमिक युनियन इकाई कमिटी गिरीबन्धुले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री पाठकले ट्यूवेलबाट पानी पिउन बाध्य श्रमिकहरुलाई स्वच्छ पानीको व्यवस्था गर्न बजेट बिनियोजन गरिएको जानकारी दिएका हुन् । उनले गिरीबन्धु टि स्टेटभित्र कार्यरत श्रमिकले अब ट्यूवेलबाट पानी उपभोग गर्नुपर्ने बाध्यता हटेर जाने बताए । बजेटको व्यवस्था गरिएको छ, कसरी आयोजना सञ्चालन गर्ने हो तपाईहरु सल्लाह गर्नुहोस्, मन्त्री पाठकले भने ।
चिया मजदुरको हक अधिकारका निमित्त वर्षौदेखि क्रियाशिल रहेको बताउँदै मन्त्री पाठकले आगामी दिनहरुमा पनि हातेमालो गर्न तयार रहेको जनाए । आफु विगतमा जस्तै मजदुरको पक्षमा रहेको बताएका छन् । बडादशैंको अवसरमा शुभकामना व्यक्त गर्दै मन्त्री पाठकले अहिले पनि मजदुरका धेरै समस्याहरु विद्यमान रहेको बताए । मजदुरका समस्या समाधानका लागि आफ्नो तर्फबाट सधैं साथ र सहयोग रहने प्रतिवद्धता जनाउँदै उनले बगानक्षेत्रभित्रको पूर्वाधार निर्माणमा प्राथमिकता दिने प्रतिक्रिया दिए ।
मन्त्री पाठकले मजदुरका समस्या समाधान नगरेसम्म आफुहरुको राजनीतिक लक्ष्य पूरा नहुने जिकिर गरे । उनले विगतमा भएका कमजोरीहरुलाई सच्याउदै अघि बढ्न तयार रहेको बताउँदै मुलुकलाई संकटबाट बाहिर निकाल्न सहयोग गर्न आग्रह गरेका छन् । मुलुक संवैधानिक रुपमा संकटमा परेको र अराजकता मौलाएको भन्दै त्यस्ता गलत प्रवृत्तिहरुलाई चिर्न मजदुर वर्गको भूमिका प्रभावकारी हुनुपर्ने बताएका छन् ।
नेपाल चिया कफी श्रमिक युनियन इकाई कमिटी गिरीबन्धुका अध्यक्ष नारायण दर्जीको अध्यक्षतामा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा एमाले अर्जुनधाराका अध्यक्ष विर्ख प्रधान, अनेमसंघ कोशी प्रदेश सदस्य धनमाया गौतम, एमाले अर्जुनधारा वडा नं. ११ का अध्यक्ष वीरबहादुर राई, नमूना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जागिरमान राई, श्रम संस्कृति पार्टी वडा नं. ११ का अध्यक्ष गोविन्द तामाङ, अनेमसंघ वडा अध्यक्ष इन्दिरा पोखरेल, रास्वपाका वडा सदस्य बलबहादुर कोइराला लगायतले शुभकामना मन्तव्य राखेका थिए । उनीहरुले चिया मजदुरका समस्या, स्थानीय विकास लगायतका विषयमा धारणा राखेका थिए ।
नेपाल चिया कफी श्रमिक युनियन इकाई कमिटी गिरीबन्धु सचिव सावित्रा बञ्जराले स्वागत गरेको कार्यक्रमको सञ्चालन चिया मजदुरका नेता सइकुमार राईले गरेका थियो । शुभकामना आदानप्रदान कार्यक्रममा जलपानको व्यवस्था समेत गरिएको थियो ।








प्रतिक्रिया