बिर्तामोड

धुलाबारी मावि पूर्व विद्यार्थी समाजको अध्यक्ष्यमा हरि कोइराला

धुलाबारी मावि पूर्व विद्यार्थी समाजको अध्यक्ष्यमा हरि कोइराला


बिर्तामोड । धुलाबारी माध्यमिक विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको तेश्रो अधिवेसन आज सम्पन्न भएको छ । पूर्व विद्यार्थीहरुको पुनर्मिलन, शुभकामना आदान प्रदान, पूर्व विद्यार्थी सम्मान र नयाँ कार्यसमिति चयन गर्दै अधिवेसन सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा विभिन्न विधामा विद्यावारिधि गर्न सफल पूर्व विद्यार्थीहरु संगीतकार टीका भण्डारी, शमशेर श्रेष्ठ, हरि कट्टेल र जीवन पौडेललाइ सम्मान गरिएको छ । विद्यालयका विद्यार्थीको पढाईमा सहयोग गर्ने उद्देश्यले पूर्व विद्यार्थी मदन प्रसाईले १ लाख ५१ हजार रुपैयाँको भानु उषा स्मृति अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् ।

सो अधिवेसनले आगामी दुई बर्षे कार्यकालको लागि हरि कोइरालाको अध्यक्षतामा १४ सदस्यीय पूर्व विद्यार्थी समाज चयन गरेको छ । समितिको उपाध्यक्षमा लीला प्रसाद भण्डारी, माया न्यौपाने, भुपेन्द्र कडरिया, सन्तोष प्रसाई, सन्तोष धमला, महासचिवमा सागर खनाल, सचिवमा यमनाथ (युवराज) रेग्मी र कोषाध्यक्षमा केशव पोखरेल रहेका छन् ।

त्यस्तै सदस्यहरुमा योगेन्द्र आचार्य, विशान्त कटुवाल, नारायण खनाल, सुभाष रिजाल, किरण श्रेष्ठ चयन भएको निर्वाचन सहजीकरण समितिका संयोजक तथा विद्यालयका सहायक प्रधानाध्यापक तेज प्रसाद चौंलागाइले जानकारी दिए ।

मेचीनगर नगरपालिकाका प्रमुख तथा विद्यालयका पूर्व विद्यार्थी गोपाल बुढाथोकीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक महेन्द्र विलास लुइटेलले शुभकामना मन्तव्य राखेका थिए । पूर्व विद्यार्थी समाजका अध्यक्ष ध्रुव कनालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

शेयर गर्नुहोस :

0
Shares