Banner news

टिकाको उत्तम साइत १०:२६ मा ,लगाइदिने व्यक्ति पूर्व फर्किनुपर्ने

टिकाको उत्तम साइत १०:२६ मा ,लगाइदिने व्यक्ति पूर्व फर्किनुपर्ने


काठमाडौँ : बडादशैँको मुख्य दिन बुधबार विजयादशमी । नवरात्रमा पूजा गरिएकी देवी नवदुर्गाको प्रसाद मान्यजनको हातबाट लगाइँदै छ।

दशैँघर र शक्तिपीठमा नौ दिनसम्म आराधना गरिएकी नवदुर्गाको विसर्जन गरी मान्यजनबाट टीका जमरा थाप्न लागिएको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन गरी टिका लगाउन उत्तम साइत १० बजेर २६ मिनेटमा रहेको जनाएको छ ।

यद्यपि देवीको प्रसाद मान्यजनका लागि विशेष साइत हेरिरहनु नपर्ने पनि समितिका अध्यक्ष सहप्राध्यापक डाक्टर पुरुषोत्तम भट्टराईले जानकारी दिएका छन्। परम्परालाई निरन्तरता दिएको र साइत हेरेर टिका लगाउनेका लागि समय दिएको समितिले जनाएको छ।

विजयादशमीका दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टिका लगाइमाग्ने व्यक्ति पश्चिम र लगाइदिने व्यक्ति पूर्व फर्किनुपर्ने भट्टराईले बताए । कतिपय स्थानमा विजयादशमीका दिन मात्रै टिका लगाइने भए पनि धेरै ठाउँमा कोजाग्रत पूर्णिमासम्म टिका लगाउने चलन छ । घरमा बुबाआमालगायतको हातबाट टिका थापेर मावली, ससुराली आदि नातासम्बन्धीकहाँ टिका लगाउने गरिन्छ।

यसैगरी बडादशैँ अन्तर्गत शक्तिस्वरूपा भगवतीको पूजा अर्चना गरी महानवमी पर्व मनाइएको छ। घटस्थापना गरिएका दशैँघर तथा शक्तिपीठहरूमा देवी दुर्गाको आराधना गरी महानवमी मनाइएको हो । काठमाडौँ उपत्यकामा रहेका गुह्येश्वरी, भद्रकाली मैतीदेवी, नक्साल भगवती, शोभाभगवतीका साथै गोरखाको मनकामना, काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवतीको मन्दिरमा श्रद्धालुको घुइँचो लागेको छ ।

सर्वसाधारणका लागि वर्षमा एक दिन मात्र खुल्ने तलेजुको मन्दिरमा पनि घुइँचो लागेको छ । बडादशैँका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा नवकन्याको पूजा अर्चना गरेका छन्।

शेयर गर्नुहोस :

0
Shares