जेष्ठ २७, २०८२ सोमबार

कोरोना परीक्षण शुल्क तोकिसकेको छैनः स्वास्थ्य मन्त्रालय

काठमाडाैँ । निजी स्वास्थ्य संस्थार्माफत कोभिड १९ को परीक्षण शुल्कबारे चलिरहेको हल्ला गलत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाको सशुल्क परीक्षणको हालसम्म दररेट तोकिनसकेको मन्त्रालयका सूचना तथा सञ्चार संयाेजक डा. गुणराज लोहनीले एक विज्ञप्तिमार्फत स्पष्ट पार्नुभएको छ ।

विभिन्न अनलाइन मिडियाहरुले निजी संस्थाबाट परीक्षण गराउन १५ हजार रुपियाँ शुल्क तोकिएको भनी समाचार सम्प्रेषण गरेको र यसैलाई आधार मानी सर्वसाधारणले व्यक्त गरेको प्रतिक्रियाहरूप्रति मन्त्रालयको ध्यानाकर्षण भएको डा. लोहनीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

सार्वजनिक अस्पतालहरूमा लामबद्ध भएर समय खेर फाल्न नचाहने र भिडभाडमा गएर जोखिम मोल्न नचाहने स्वदेशी तथा विदेशीहरूकाे अनुरोधमा नै मन्त्रालयले सशुल्क परीक्षणको व्यवस्था गर्न लागेको उहाँले स्पष्ट पार्नुभएको छ ।

सशुल्क परीक्षण गर्ने संस्थाहरूले परीक्षणका लागि तोकिएको सम्पूर्ण मापदण्ड पुर्याएकाे हुनुपर्ने जनाउँदै उहाँले यस प्रकारको परीक्षणको दररेट मन्त्रालयले तोकिदिने भएतापनि हालसम्म कुनै दररेट तोकी नसकेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

परीक्षणको दायरा बढाउन गरिएको यस्तो व्यवस्थाका लागि के कति शुल्क लाग्ने, प्रयोगशाला कस्तो हुने, सुरक्षा प्रबन्ध कसरी अपनाउने लगायतका विषयमा छलफल र निर्णय हुन बाँकी नै रहेको उहाँले बताउनुभएको छ । यस्तो अवस्थामा यसबारे भ्रमपूर्ण समाचार सम्प्रेषण गरी समाजमा उत्तेजना फैलाउने कार्य भएमा कानुबमोजिम कारबाही गरिने मन्त्रालयले सूचित गरेको छ ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रीको अध्यक्षतामा जेठ ६ गतेको बैठकले स्वेच्छाले परीक्षण गर्न चाहने स्वदेशी र विदेशी नागरिकलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड र सूचनाको गोपनीयता तथा नियमित रिपोर्टिङ गर्ने शर्तमा तोकिएको दररेटमा सशुल्क परीक्षण उपलब्ध गराउने भनी निर्णय भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ ८, २०७७ बिहीबार  ७ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]