कनकाईमा औषधि बाहेक सबै बन्द गर्ने निर्णय
सिएम शर्मा
कनकाई । कनकाई नगरपालिकाका बजारहरु जेठ २० गतेसम्म पुर्ण रुपमा बन्द गरिने भएको छ ।
नगरपालिकामा बुधबार विभिन्न संघसंस्थाका प्रतिनिधि , राजनीति दलसहित भएको सर्वपक्षीय भेलाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन कनकाई नगर क्षेत्रका बजार पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य सेवा बाहेक यसअघि दैनिक चार घण्टासम्म संचालनमा रहेका अतिआवश्यकीय सेवाका पसलहरु, दैनिक उपभोग्य खाद्य सामग्रीका पसल , हार्डवेयर पसल साथै ,सागसव्जी, फलफूल, विउविजन, ग्यारेज तथा मोटर पार्टसका पसलहरु जेठ ८ गते विहीवारदेखि २० गते सम्मका लागि पूर्ण रुपले बन्द गर्ने निर्णय भेलाले गरेको छ । साथै जेठ ८ गते विहीबारदेखि लागु हुने गरी १३ गते मंगलवार सम्मका लागि कनकाई नगरपालिकाको कार्यालयबाट हुने कोभिड– १९ सँग सम्बन्धित बाहेकका सेवा अन्य सबै सेवा समेत बन्द गर्ने निर्णय भएको छ ।
यस समयावधिमा हिडडुल गरेमा , सवारी चलाएमा र पसलहरु खुल्ला गरेमा प्रहरीले नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम कार्वाही गरिने बताइएको छ ।