बैशाख २६, २०८१ बुधबार

झापामा कोरोना अस्पताल निर्माणको विरोध गर्नु औचित्यहीन

बिर्तामोड । झापामा कोरोना अस्पताल बनाउने विषयलाई लिएर विरोध गर्नु औचित्यहीन भएको सरोकारवालाहरुले बताएका छन् । अस्पताल बनाउने कुरामा हानाथाप गर्नुपर्नेमा विरोध भइरहेको छ ।

झापाका सामाजिक अभियान्ताहरुले झापामा अस्पताल बनाउने कुरामा सहमति जुटाएर अघि बढ्नुको विकल्प नरहेको बताउँछन् । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले नवनिर्मित मेची अस्पतालमा कोरोना अस्पताल बनाउन उपयुक्त नहुने भनेपछि नेपाली कांग्रेस निकट व्यक्तिहरुले विरोध जनाइरहेका छन् । उनीहरुले त्यसको विकल्प खोज्न आग्रह गरेका छन् । मेची अस्पतालको सट्टा चन्द्रगडीस्थित खाद्यको गोदाम वा कलकलगुरीमा कोरोना अस्पताल बनाइनुपर्ने माग गर्दै आएका छन् ।

कलवलगुरी र खाद्यको गोदाम भौतिक संरचनाका हिसावले कमजोर र असुरक्षित रहेकोले त्यसलाई अस्पताल बनाउन नमिल्ने बताइएको छ ।
कोरोना अस्पताल निर्माण गरेपछि स्थानीयबासीमा संक्रमणको जोखिम हुने भन्दै विरोध भएको छ । यता, खाद्य र कलवलगुरी आसपास बसोबास गर्ने नागरिकले मेची अस्पतालमै कोरोना अस्पताल बनाउन ठिक हुने बताइरहेका छन् ।

झापामा संक्रमित बढ्दै गएपछि प्रदेश सरकारका सामाजिक विकास मन्त्रीले झापाका राजनीतिक दल, प्रशासन, स्वास्थ्य अधिकारीलाई कोरोना उपचार अस्पताल र प्रयोगशालाको स्थान निर्धारण गर्न अनुरोध गरेका थिए । प्रदेश सरकारको निर्णय अनुसार झापामा अस्पताल र प्रयोगशालाको खोजी भएको थियो ।

प्रदेश सरकारको अनुरोध अनुसार राजनीतिक दल, जिल्ला समन्वय समिति, चिकित्सक, प्रशासन र प्रहरीकोसमेत सक्रियतामा मेची अञ्चल अस्पतालको पूर्वमा निर्माणाधिन भवनलाई कोरोना उपचार अस्पताल र जनस्वास्थ्य तालिम भवनलाई प्रयोगशाला बनाउन निर्णय गरिएको थियो ।
कोरोना भाइरस संक्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समिति झापा कोरोना अस्पतालको लागि काम थालिसकेको छ । सो समितिमा रहेका सबै राजनीतिक दलबिचको सहमतिले नै काम थालनी गरिएको समितिका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए ।
अस्पताल बनाउन साथ छिमेकीलाई कोरोना सरिहाल्छ भन्ने बुझाईले विवाद भएको त्यहिका स्थानीयको भनाई छ । एक स्थानीय भन्छन्, बिराटनगर र धरानमा कोरोना अस्पताल बनाएपछि कति छिमेकीलाई सर्यो ? अस्पताल बनाउन आवश्यक मापदण्ड पुरा गरेकै हुन्छ, आत्तिनु र विरोध गर्नु बेक्कार छ ।

अस्पताल नजिकै रहेका रेडक्रस भद्रपुर उपशाखाका सचिव दीप लिम्बूले अस्पतालका लागि उपयुक्त ठाउँ पहिचान गरेको जानकारी दिए । उनले भने, मेची अञ्चल अस्पतालको नवनिर्मित भवनमा प्रस्तावित भेन्टिलेटर, आईसियु, पिसिआर मेशिन लगायत अत्याधुनिक सामाग्रीहरु सहितको कोभिड अस्पतालको समर्थन गर्दा नेताको मलद्वारलाई हरिद्वार देख्ने आरोप लाग्छ भने सहन तयार छु । तर यदि यो अन्यत्र जिल्ला गयो भने त्यसरी आरोप लगाउने मित्रहरुले मेची अस्पताल सुक्यो भनेर मलाई नसम्झिनु होला । यदि कोशी र घोपामा यसरी नै विरोध गरिएको भए के हुन्थ्यो ? भन्दै प्रश्न समेत गरेका छन् ।

मेची अस्पतालमा कोरोना अस्पताल बनाउने कुरा भोलीको विकास समेत भएको धेरैले प्रतिक्रिया दिएका छन् । आज विरोध भयो भने भोलीका दिनमा अस्पतालको विकास संभव छैन, त्यसैले विरोध नगरौं – एक अगुवा युवा भन्छन् ।

कोरोना अस्पताल बनाएमा रगतको खोला बगाउने भन्दै एक जना जनप्रतिनिधिले अभिव्यक्ति दिएको कुरा अहिले सर्वत्र आलोचना भइरहेको छ । जनप्रतिनिधिले आम नागरिकको स्वास्थ्य सुरक्षामा जिम्मेवार बन्नुपर्नेमा उल्टै यस प्रकारको धम्की दिनु गलत भएको टिप्पणी गर्न थालिएको छ ।

अस्पताल बनेपछि सुरक्षाको घेराबन्दीमा उपचार हुन्छ, कसैले आउजाउ गर्न मिल्दैन पोर्तेलले भने – विरोध गर्नुभन्दा सहयोग गर्न आग्रह गर्दछु ।

प्रकाशित मिति : जेष्ठ १३, २०७७ मंगलबार  २ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]