फार्मेसी राख्न बुद्धशान्तिमा ‘सेटिङ’ भएकै हो ?
बिर्तामोड । बुद्धशान्ति गाउँपालिकामा सेटिङ मिलाएर फार्मेसी सञ्चालन गर्न दिन लागेको आरोप लागेको छ । गाउँपालिकाले न्यूनतम पाँच लाखमा फार्मेसीको लागि टेण्ड आव्हान गरेको थियो । तर, २० लाखसम्मको टेण्डर हाल्न तयार व्यवसायीलाई रोकिएको इजलासलाई जानकारी दिइएको छ ।

गाउँपालिकाले यसअघि विना टेण्डर फार्मेसी सञ्चालनको लागि तयारी गरेको थियो । विना प्रतिष्पर्धा फार्मेसी सञ्चालन गर्न दिन लागेपछि व्यापक विरोध भएको र विरोध कै कारण गाउँपालिकाले टेण्डर आव्हान गरेको छ । आज टेण्डर हाल्ने अन्तिम दिन भए पनि धेरै व्यवसायीले टेण्डर हाल्नै नपाएको जानकारी दिएका छन् । उनीहरुले गाउँपालिकाको गेट मै छेक्ने काम भयो, धाकधम्की समेत आएपछि हामीलाई टेण्डर हाल्नबाट पछि हटाइएकोछ ।
स्वस्थ्य प्रतिष्पर्धाका लागि टेण्डर आव्हान गरिए पनि टेण्डर हाल्नैबाट रोक्ने काम भएको छ । न्यूनतम पाँच लाख भनेको ठाउँमा २० लाखसम्म टेण्डर हाल्ने व्यवसायीलाई रोकेर ५ लाखवाला व्यवसायीलाई नै फार्मेसी सञ्चालनको लागि अनुमति दिने तयारी गरिएको आरोप लगाएका छन् ।
बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्र प्रसाद चापागाई कसैलाई रोक्ने काम नभएको बताएका छन् । उनले बाहिरको कुरामा कार्यालय जिम्मेवार नहुने भन्दै उनले नियमसंगत आएको दरखास्त बुझिलिने जानकारी दिए । अहिलेसम्म ७ वटा फर्म गइसकेको छ, नियमसंगत आउनेले टेण्डर हाल्न नपाए म जिम्मेवार हुन्छ, चापागाईले भने ।
यसअघि गाउँपालिकाले विना प्रतिष्पर्धा आरएमसी मेडिकल सेन्टर अर्जुनधारालाई फार्मेसी सञ्चालन गर्न दिने तयारी गरेको थियो । टेण्डरमा पनि सोहि मेडिकल सेन्टरलाई अनुमति दिएमा छानविन हुनुपर्ने केहि व्यवसायीले माग गरेका छन् । बुद्धशान्ति गाउँपालिकाले ५ शैयाको बुद्धशान्ति अस्पताल सञ्चालनको तयारी गरिरहेको छ ।