पूर्वी नाकाबाट १४९ नेपाली भित्रिए
काँकरभिट्टा । नेपाल भारत सीमाक्षेत्रमा रहेका १ सय ४९ जना नेपाली विहीबार पूर्वी नाका हुँदैं प्रवेश गरेका छन् ।
नेपालका विभिन्न जिल्लाबाट भारतलगायत अन्य देशमा रोजगार तथा अध्ययनका लागि गएकाहरु काँकरभिट्टा नाका भएर नेपाल फर्केका हुन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार बुधबार आएका समेत गरी २ सय ८ जना मध्ये १ सय ४९ जनालाई सम्बन्धित जिल्ला र पालिका पठाइएको छ भने बाँकीलाई मेचीनगरकै विभिन्न क्वारेन्टिन र होल्डिङ सेन्टरमा राखिएकोे छ ।
विहीबार नेपाल प्रवेश गरेकामध्ये झापाको मेचीनगर ४ का २ तथा ८ का १ गरी कुल ३ जना नागरिक मेचीनगरवासी रहेको बताइएको छ । उनीहरुलाई मेचीनगर नगरपालिकाले स्थापना गरेको वडास्तरीय क्वारेण्टिनमा सुरक्षित र व्यवस्थित रुपमा राखिएको मेचीनगर नगरपालिका कोरोना संक्रमण नियन्त्रण कार्यदलका सचिव एवम् वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले जानकारी दिए ।
मेचीनगरबाट भारतलगायत अन्य देशमा रोजगार तथा अध्ययनका लागि गएकाहरु नगरवासीहरु आफ्नो नगरमा फर्के व्यवस्थित र सुरक्षितरुपमा राख्न नगरका १५ वटै वडामा वडास्तरीय क्वारेण्टिन निर्माण गरेको छ । मेचीनगरका तीनजनालाई सम्बन्धित वडाको क्वारेण्टिनमा राखिएको सामाजिक विकास समितिका संयोजक तथा वडानम्बर ४ का वडाध्यक्ष नवीन वरालले बताउनुभयो ।
यसैगरी विहीबारसम्म नगरका वडास्तरीय क्वारेण्टिनमा ८९ जना रहेका सचिव वस्तीले जानकारी दिए । उनका अनुसार वडा नम्बर १ मा ११, वडानम्बर २ मा ५, वडानम्बर ३ मा ७, वडानम्बर ४ मा ८, वडानम्बर ६ मा ३, वडानम्बर ७ मा १०, वडानम्बर ८ मा १, वडानम्बर ९ मा २२, वडानम्बर १० मा ५, वडानम्बर ११ मा १२, वडानम्बर १२ मा ३ र वडानम्बर १३ मा २ जना रहेका छन् । वडानम्बर १४, १५ र ५ भने खाली छन् ।
यसैगरी मेचीनगर— ६ स्थित काँकरभिट्टा माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा ५५ र वडानम्बर —८ स्थित आदर्श माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा २७ जना रहेका छन् । आदर्शमा रहेका केहीलाई सम्बन्धित जिल्ला पठाउने तयारी भएकाले थपघट हुने सम्भावना छ ।
नगरप्रमुख विमल आचार्यले नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन र नेपाल भारतसीमामा अलपत्र अवस्थामा रहेका नेपालीहरुको व्यवस्थापनमा नगर सरकार शुरुदेखि नै लागि परेको बताए । उनले मेचीनगरवासीलाई यो संक्रमणबाट बचाउनु स्थानीय सरकारको मुख्यः दायित्व भएको भन्दैं नगर प्रमुख आचार्यले आफ्ना नगरवासीलाई भोग र रोगबाट कुनै हालतले पनि मृत्युवरण गर्न नदिनका लागि सधै नगरवासीसँगै स्थानीय सरकार रहने बताएका छन् ।