कचनकवलमा कोरोना संक्रमित बोक्ने एम्बुलेन्स चालक छोरा भन्छन् – घरको दुध, पानी नै नचल्ने भो
बिर्तामोड । कोरोना संक्रमतिलाई अस्पतालसम्म पुर्याउने कचनकवलका एक एम्बुलेन्स चालकको परिवार छरछिमेकबाट अपहेलित भएको छ । यतिसम्म कि चालकको घरको दुध र पानी नै नचल्ने भयो ।
चालकका छोरा सन्दिप सिलवालले आफ्नो बुबाले कोरोना संक्रमितलाई अस्पताल पुर्याउन गएपछि स्थानीयबासीले गरेको दुव्र्यवहार सामाजिक सञ्जाल मै लेखे । उनले अहिलेको समयमा एम्बुलेन्स चालकलाई मनोवल उच्च बनाउन सहयोग गर्नुपर्नेमा एकजुट भएर सामाजिक बहिस्कार गर्न खोजेको कुरा लेखेका छन् ।

उनका बुबा योगेन्द्र सिलवाल कचनकवल – २ को श्री कृष्ण प्रणामी मन्दिरद्वारा सञ्चालित एम्बुलेन्स चलाउँदै आएका छन् । प्रदेश १ मै कोरोना संक्रमणको ‘हटस्पट’ बनेको कचनकवलमा स्थानीय भएको नाताले पनि विरामीलाई अस्पताल पुर्याउनु पर्ने बाध्यता छ । तर, उनले कोरोना संक्रमण भएको विरामी बोकेपछि स्थानीयले घर नै घेराउ गरेको छोरा सन्दिपले जानकारी दिए ।
घर घेराउ भएपछि जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय र जनस्वास्थ्यको एक्सनपछि स्थानीयबासी पछि हटे । आइतवार सोहि घटनाको सन्दर्भमा स्थानीय प्रहरी कार्यालयमा छलफल नै चल्यो । जिल्ला प्रशासनले चालकको घर घेराउ गर्ने, दुव्र्यवहार गर्नेलाई अभद्र मुद्धामा जेल नै पठाउने गरी तयारी गरेको थियो । तर, चालकको परिवारले छरछिमेकीलाई माफी मागेपछि छोडिदिए ।
छोरा सन्दिपका अनुसार उनको परिवारले किनमेल गरेको पसलमा अरु छिमेकी जानै छोडे । डेरीलाई दुध पनि नलिन दवाव दिइयो । उनी भन्छन्, कोरोना संक्रमित बोक्दा हामीमाथि विभेद भयो, अब कोहि एम्बुलेन्स चालकले यस्तो दुव्र्यहार भोग्नु नपरोस् ।