चैत्र १५, २०८० बिहीबार

पश्चिम बंगाल सरकारद्वारा आफ्नै नागरिकलाई प्रवेशमा अवरोध

काँकडभिट्टा – भारतको पश्चिम बंगाल सरकारले आफ्ना नागरिकलाई प्रवेशमा अवरोध गर्दा करिब एक हजार भारतीय नेपाल–भारतको दशगजा क्षेत्रमा अलपत्र परेका छन् । उनीहरु निर्माणाधिन मितेरी पुल र मेची बगर क्षेत्रमा अलपत्र छन् ।

अलपत्र परेकाहरु अधिकांश नेपालका विभिन्न उद्योगमा कार्यरत श्रमिकहरु छन् । उनीहरु केही दिनदेखि काँकडभिट्टा बसपार्क क्षेत्रमा अलपत्र थिए । मेची नगरपालिका र स्थानीय प्रहरीको सहयोगमा उनीहरुलाई बुधबार बिहान दशगजामा लगेर छाडिएको हो ।

‘उनीहरुलाई राख्ने हामीसँग न क्वारेन्टाइन छ न त भात ख्वाउने क्षमता नै’, मेची नगरका मेयर विमल आचार्यले भने, ‘भारतले आफ्ना नागरिक बुझेर लगोस् भनेर दशगजामा छाडेका हौं ।’

दुई दिनअघि असम, सिक्किम, मणिपुर लगायत भारतको पूर्वोत्तर राज्य प्रतिनिधिले नेपालमा अलपत्र नागरिक बुझेर लगेका थिए । तर, पश्चिम बंगालले भने नेपालबाट आउने नागरिकलाई राख्ने क्वारेन्टाइनको पर्याप्त तयारी नभएको कारण देखाएर रोकावट गरेको हो ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी राजेन्द्र पोख्रेलले नाकामा भारतीयको भीड बढेको बढै हुँदा समस्या भएको जनाए । उनका अनुसार अझै २० हजार भारतीय पूर्वी नाकाबाट भारत फर्किंदै छन् । अधिकांश पश्चिम बंगालका हुन् । डीएसपीले भने, ‘भारतले आफ्ना नागरिकलाई नाकामा अलपत्र पारेर बस्न मिल्दैन ।’ उनका अनुसार काँकडभिट्टा आउने भारतीयलाई दसगजासम्म पुऱ्याउन प्रहरीले सहयोग गर्ने र त्यहाँबाट उता भारत आफैले बुझेर लानु पर्छ ।

खासगरी इँटा कारखानामा कार्यरत मजदुरहरुको नाकामा भीड देखिएको छ । वर्षायामका कारण इँटा कारखानाहरु धमाधम बन्द हुन् थालेका छन् । पश्चिम बंगालको कोलकाताका प्रितम भोरले नाकामा अलपत्र परेको २४ घन्टा बित्न लाग्दा पनि भारत सरकारले उद्धार नगरेको बताए । उनले मुख्यमन्त्री ममता बेनर्जीसँग अनुरोध गरे, ‘हामीलाई तत्काल उद्धार गरियोस् नत्र भोकै मर्ने अवस्था हुन लाग्यो ।’

भारतीय सुरक्षा संयन्त्रले बंगालका नागरिकलाई प्रवेश गराउने बारे निर्णयको पर्खाइमा रहेको जनाएको छ । एक जना भारतीय सुरक्षा अधिकारीले भने,‘राज्य सरकारको अर्डर आउने बित्तिकै प्रवेश गराउने छौं ।’

प्रकाशित मिति : जेष्ठ २१, २०७७ बुधबार  ११ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]