बैशाख २७, २०८२ शनिबार

क्‍वारेन्टाइनबाट घर पठाइएका तीन पुरुषमा कोरोना संक्रमण

बिर्तामोड – क्‍वारेन्टाइनबाट घर पठाइका झापाका तीन पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । भद्रपुर नगरपालिका १० स्थित कलवलगुडी क्‍वारेन्टाइनबाट बुधबार साँझ घर पठाइएकाहरुमा बिहीबार कोरोना पुष्टि भएको हो ।

प्रयोगशालाबाट पीसीआर परीक्षण रिपोर्ट आउनुअघि नै कोरोना नेगेटिभ भएको भन्दै उनीहरुलाई क्‍वारेन्टाइन व्यवस्थापन पक्षले घर जाने अनुमति दिएको थियो । क्‍वारेन्टाइन व्यवस्थापनले घर जाने अनुमति दिएपछि उनीहरुलाई बुधबार साँझ ८ बजेतिर भद्रपुरका मेयर जीवनकुमार श्रेष्ठले गाडीमार्फत घरघर पुर्‍याएका थिए । घर गएका उनीहरुको पीसीआर रिपोर्ट बिहीबार पोजेटिभ आएको थियो ।

घर पठाइएका व्यक्तिहरुको रिपोर्ट पोजिटिभ आएपछि बिहीबार अपरान्ह १ बजेतिर तीनै जनालाई पुनस् क्‍वारेन्टाइनमा बोलाइएको थियो । पीसीआर परीक्षण पोजिटिभ देखिएकामा भद्रपुर १ र ३ तथा कचनकवल गाउँपालिका ६ का पुरुष छन् ।

पोजिटिभ देखिएका ३ सहित ९ जनाको समूह केही दिनअघि मात्र भारतबाट आएका हुन् । उनीहरुलाई कलवलगुडीको क्‍वारेन्टाइनमा राखिएको थियो । जेठ १७ गते भद्रपुरको मेची बहुमुखी क्याम्पस, हिमाली मावि र कलवलगुडी क्‍वारेन्टाइनका गरी ८८ जनाको स्वाब नमुना संकलन गरी पीसीआर परीक्षण गर्न धरान पठाइएको थियो । ८८ मा कलवलगुडी क्‍वारेन्टाइनका ९ जनाको स्वाब थियो । स्वाब नमुनासँगै पठाइए पनि बुधबार मेची क्याम्पस र हिमाली माविका स्वाबको रिपोर्ट नेगेटिभ आएको थियो ।

‘एकैसँग स्वाब पठाइएकोले जिल्ला स्वास्थ्य कार्यालयले बुधबार ८८ जना सबैको रिपोर्ट नेगेटिभ आएको भनेर हामीलाई पनि फोनमार्फत जानकारी दियो’ भद्रपुरका हेल्थ असिस्टेन्ट मनोज भट्टराईले भने,‘रिपोर्ट नेगेटिभ आएको भनेपछि हामीले ९ जनालाई नै घर जाने अनुमति दियौं । तर, आज ९बिहीबार० ११ बजेतिर तीन जनाको रिपोर्ट पोजिटिभ छ भनेर फेरि स्वास्थ्य कार्यालयबाट फोन आउँदा हामी अच्चमित भयौं ।’ उनले बुधबार नभई ९ जनाको रिपोर्ट बिहीबार मात्र आएको बताए ।

मेयर होम क्‍वारेन्टाइनमा

संक्रमित व्यक्तिहरुलाई घरघरसम्म पुर्‍याएका मेयर श्रेष्ठ बिहीबारदेखि होम क्‍वारेन्टाइनमा बसेका छन् । नेगेटिभ रिपोर्ट आएको थाहा पाएपछि क्‍वारेन्टाइनका लागि व्यवस्था गरिएको मिनी बसमा मेयर श्रेष्ठ आफू पनि बसेर ९ जनालाई बुधबार साँझ घरघर पुर्‍याएका थिए । बिहीबार ९ मध्ये तीन जनामा संक्रमण पुष्टि भएपछि आफू होम क्‍वारेन्टाइनमा बसेको मेयर श्रेष्ठले बताए । ‘उनीहरुलाई घर पुर्‍याउन म पनि गएको थिएँ । तर, उनीहरुलाई मैले छुने काम गरिनँ । एउटै गाडीमा सवार भएकोले स्वास्थ्यकर्मीका सल्लाहअनुसार घरमै क्‍वारेन्टाइनमा बसेको छु’उनले भने ।

प्रकाशित मिति : जेष्ठ २३, २०७७ शुक्रबार  ८ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]