बिर्तासिटीले आरडिटी परीक्षण गर्दा बिर्तामोडमा फैलियो त्रास
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बिर्तासिटी हस्पिटलले आरडिटी परीक्षण शुरु गरेपछि स्थानीय नागरिक त्रसित भएका छन् । बिर्तामोड सहित जिल्लाका विभिन्न ठाउँका नागरिकले बिर्तासिटीमा कोरोना पुष्टि भएको भन्दै अस्पताल शिल भएको अपुष्ट सूचना आदानप्रदान गरिरहेका छन् ।

सरकारले निजी अस्पतालले समेत कोरोना परीक्षण गर्न सक्ने भनेपछि बिर्तासिटीले किट ल्याएर आरडिटी परीक्षण शुरु गरेको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिको आरडिटी परीक्षण गर्दा पोजिटिभ देखिएको हस्पिटलका निर्देशक डा.अनिल बस्नेतले जानकारी दिए । उनका अनुसार ३ जनाको आरडिटी पोजिटीभ देखिएपछि पीसीआर परीक्षणको लागि पठाइएको छ । २ जनाको पीसीआर नेगेटिभ आइसकेको छ भने एक जनाको रिपोट आउन बाँकी छ । पहिलो चरणमा केहि किट ल्याएर परीक्षण शुरु गरेको बिर्तासिटीले अब परीक्षण गर्न नसक्ने डा. बस्नेतको भनाई छ । किट अभाव र स्थानीय नागरिकमा फैलिएको डर त्रासका कारण परीक्षण गर्न सकिने अवस्था छैन, लगभग हामी अब परीक्षण गर्दैनौं – इजलाससँग डा. बस्नेतले भने ।
दुई दिनदेखि बिर्तासिटीमा कोरोना पुष्टि भएको बिरामी फेला परेको असत्य सूचना बाहिर व्यापक फैलिएको छ । डा. बस्नेतले गलत सूचनाको भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् । उनले भने– बाहिर हल्ला फैलिए जस्तो अस्पताल शिल भएको छैन ।
बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखालाई आरडिटी परीक्षण गर्ने जानकारी गराएको बिर्तासिटीले अनुमति बिनै परीक्षण शुरु गरेको थियो । स्वास्थ्य शाखाले अनुमति दिएको छैन, जानकारी मात्र आएको छ – नगरका एक अधिकारीले भने । अस्पतालसँग यसबारे थप कुराकानी गर्ने तयारी भइरहेको बिर्तामोड नगरपालिकाले जनाएको छ ।