नयाँ नक्सा अनुमोदन भएपछि झापामा खुशीयाली
बिर्तामोड । नेपालको अद्यावधिक नक्सा समेटिएको ‘नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक, २०७७’ दुई तिहाइ भन्दा बढी मतले पारित भएको खुशीमा झापाको बिर्तामोडमा खुशीयाली मनाइएको छ ।

सत्तारुढ पार्टीका युवा संघ संगठनले दीपप्रज्वलन गर्दै खुशी मनाएका छन् । सयौं सर्वसाधारणको सहभागितामा दीपप्रज्वलनअघि बिर्तामोड परिक्रमा गरिएको थियो । उनीहरुले लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नयाँ नक्सा संसद्ले पारित गरेकोमा स्वागत गर्दै भारतीय विस्तारवादको विरोध जनाएका थिए । सरकारको कदमले गौरव गरिएको नारा लगाउदै उनीहरुले मुक्तिचोकमा दीपप्रज्वलन गरेको युवा संघका केन्द्रीय सदस्य पर्वतराज भण्डारीले जानकारी दिए ।
शनिबारको प्रतिनिधिसभा बैठकले लिम्पियाधुरासहितको नक्सा पारित गर्दैै ऐतिहासिक निर्णय गरेको छ । सोहि अवसरमा आज देशभर खुशीयाली मनाइएको छ ।
संविधान संशोधनका लागि भएको मतदानमा २५८ मत खसेकोमा पक्षमा सबै २५८ र विपक्षमा कुनै पनि मत परेन । २७५ सदस्सीय संसदमा २५८ मत खसेसँगै संशोधन विधेयक दुई तिहाई भन्दा बढी मतले पारित भएको सभामुख अग्नि सापकोटाले घोषणा गरेका थिए ।