बैशाख १४, २०८१ शुक्रबार

बिएण्डसीले रोक्यो ‘ स्वास्थ्य बीमा ’ गर्नेहरुको उपचार सेवा

बिर्तामोड । स्वास्थ्य बीमा गरेका विरामीले उपचार सेवा नलिई फर्कनु परेको छ । बिर्तामोडस्थित बिएण्डसी अस्पतालले बीमा गरेकाहरुको उपचार गर्दै आएको थियो । स्वास्थ्य बीमा बोर्डले पैसा नतिरेको सूचना टाँसेर अस्पतालले बीमितहरुलाई फर्काएको छ ।

स्वास्थ्य बीमा गर्ने विरामीहरु उपचारका लागि अस्पताल आएर पनि आज सबैले फर्कनु परेको छ । बीमा गरेकाहरुले लाइन लाग्ने ठाउँमै अस्पतालले सूचना झुण्डाएको थियो । सूचनामा लेखिएको छ, स्वास्थ्य बीमा समितिले हाम्रो तिर्नुपर्ने रकम नदिएकाले आजको मिति देखि औषधि दिन नसकिने जानकारी गराउँदछौं । यसबाट सर्वसाधारणमा पर्न गएको असुविधाप्रति क्षमा प्रार्थी छौं ।

अस्पतालले बिहीवार प्रदेश कार्यालयलाई औषधिको अभाव देखाउदै सेवा रोक्ने जानकारी गराएको थियो । स्वास्थ्य बीमा बोर्डको प्रदेश कार्यालयले बीमाबाट उपचार गर्नेहरुलाई दिने औषधि अभाव देखाएर बाहिरबाट औषधि बिक्री गरे कारवाही गर्ने चेतावनी दिइसकेको छ । एक वर्षदेखि बीमाबाट उपचार गर्दै आएको अस्पतालले ८ करोड रुपैयाँ पाउन बाँकी रहेको अस्पताल प्रशासनले जनाएको छ । पैसा रोकिएकाले काम गर्न सकेनौं, प्रशासनका कर्मचारीले भने — भुक्तानी लगत्तै कामअघि बढ्छ ।

स्वास्थ्य बीमा बोर्ड जिल्ला शाखा कार्यालय झापाकी प्रमुख लक्ष्मी कणेलले बिएण्डसीले सेवा रोकेको विषय केन्द्रलाई जानकारी गराएको बताइन् । उनले स्वास्थ्य सेवा नै रोक्नु गलत भएको बताएकी छन् । पैसा रोकिएको सन्दर्भमा कणेलले भनिन् — पैसा रोकिएको भए जिल्लाका अन्य २१ स्वास्थ्य संस्थाले कसरी उपचार सेवा दिन्थे ? भुक्तानी निरन्तर भइरहेको छ, बिएण्डसीले बीमा बोर्डलाई औषधि अभाव भएको जानकारी दिएको उनको भनाई छ । जिल्लामा २२ वटा स्वास्थ्य संस्थाले बीमाबाट उपचार गर्दै आएका छन् । ठुलो अस्पतालमा भुक्तानी क्लियर नभएको होला, तर पैसा नदिएको भन्ने चाहीँ गलत हो, कणेलले भनिन् । केहि रकम बाँकी हुन सक्छ, भुक्तानीको प्रक्रिया लामो भएकाले समय लागेको हुन सक्ने उनको भनाई छ ।

दैनिक ५ सय देखि ७ सयसम्मले बीमाबाट उपचार सेवा लिदैं आएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरी जानकारी दिए । उनले उपचारमा आएकाहरु औषधि नपाउने भएपछि फर्किएको बताए । अस्पतालले प्रदेशलाई औषधिको अभाव देखाउदै सेवा रोक्ने जानकारी दिएपनि अस्पतालमा भुक्तानी नपाएकोले सेवा रोकेको सूचना टाँसिएको छ ।

प्रकाशित मिति : असार ५, २०७७ शुक्रबार  ५ : २३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]